
काठमाडौं । जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशभरका विभिन्न ३४ जिल्लामा बाढी आउने सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाले बुलेटिन जारी गर्दै आज काठमाडौंसहित विभिन्न ३४ जिल्लाका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको हो ।
महाशाखाका अनुसार आज बिहान मापन गर्दा कोसी नदीको सहायक नदीको बहाब सतर्कता तह आसपास छ भने नारायणी, बागमती, कर्णाली महाकाली, कन्काई, कमला पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाब सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ।
जिल्लाका दृष्टिले आज दोलखा, सिन्धुपाल्चोक, डडेल्धुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ ।
त्यस्तै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, पाँचथर, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, लमजुङ, पर्वत, बागलुङ, म्याग्दी, प्युठान, बर्दिया, रुपन्देही, नवलपरासी पश्चिम, डोटी, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि आज बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ ।
















