
काठमाडौं । सुनसरीमा बस र माइक्रो ठोक्किएर भएको दुर्घटना मृत्यु हुनेको संख्या चार पुगेको छ ।
आज बिहान भोक्राहा–नसिंह गाउँपालिका–३ जलुवा टोलमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आउँदै गरेका विङ्गर माइक्रो ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतक तीन जनाको पहिचान खुलेको छ भने एक जनाको बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
जसमा मृत्यु हुनेहरुमा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदाको मृत्यु भएको हो ।
अर्का मृतक विराटनगरका अशोक यादवको भएको खुलेको छ । मृतक महिलाको भने पहिचान नखुलेको प्रहरीले जनाएको छ । बाँकी २३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।














