काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमालेको परराष्ट्र मामिला विभागबाट राजीनामा दिएकी छन् । आफ्नी आमा एमालेकी पूर्वउपाध्यक्ष विद्याको पार्टी सदस्यता नवीकरण नगर्ने एमालेको निर्णयपछि छोरी उषाकिरण पार्टीको विभागबाट राजीनामा दिएको बताइएको छ ।

उषकिरणले राजीनामा दिएपछि एमालेले परराष्ट्र मामिला विभाग प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ । स्रोतका अनुसार उषाकिरणले केही दिनअघि नै राजीनामा दिएकी हुन् । तर, उनी आफैँले भने त्यसबारे केही बताएकी छैनन् । मदन भण्डारीकी जेठी छोरी उषाकिरण अहिले मदन भण्डारी फाउण्डेशनको अध्यक्षसमेत हुन् ।
गत साउन ९ गते पूर्वराष्ट्रपति भण्डारीले पार्टी सदस्यता कायम भएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् । त्यसयता एमालेका विभिन्न विभागमा रहेका नेताहरूले भण्डारी राजनीतिमा आउन नहुने भन्दै अभिव्यक्ति दिइरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पनि विद्या भण्डारी सम्मानित र राष्ट्रको उच्च पदमा पुगेका कारण उच्च सम्मानका साथ बस्नुपर्ने बताउँदै आएका छन् ।
एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई एमाले पार्टीको राजनीतिमा आउन रोक लगाएपछि स्व. मदन भण्डारीको छोरी उषाकिरणले राजनीतिमा आउन रोक लगाउने निर्णयबाट आफू अचम्मित नभएको बताएकी थिइन् । उनले साउन ८ मा सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताएकी हुन् । एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई एमाले पार्टीको राजनीतिमा आउन रोक लगाउने निर्णय गरेको थियो ।
त्यसपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उषाकिरणले पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने गरी गरिएको निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट आफू अचम्मित नभएको टिप्पणी गरेकी हुन् ।
उषाकिरण भण्डारी रघुवीर महासेठ परराष्ट्र मामिला विभाग प्रमुख हुँदा मात्र होइन डा. राजन भट्टराई प्रमुख हुँदा पनि सदस्य थिइन् । आमा विद्यादेवीको पार्टी सदस्य नविकरण नगर्ने निर्णयबाट नै उनी असन्तुष्ट रहेकी थिइन् ।
मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउनका लागि विद्यादेवीले आफू सक्रिय रहने भन्दै त्यसका लागि छुट्टै कार्यालयसमेत स्थापना गरिसकेकी छन् । त्यसलाई उनको सम्पर्क कार्यालयको रूपमा समेत हेरिएको छ । तर, अहिले उनी भंगलास्थित आफ्नै निवासबाट नेताहरुसँग भेटघाट गरिरहेकी छन् ।














