काठमाडौं । कञ्चनपुरकी १८ वर्षीया सम्झना भट्टको मृत्यु भएको एक हप्ता बितिसकेको छ। गत आइतबार बेलडाँडी- २ सिहपाल टोलस्थित आफ्नै घरमा उनी झुन्डिएको अवस्थामा फेला परिन् । २४ वर्षीय पवन भट्टसँग ६ महिना अघि मात्र प्रेम विवाह गरेकी सम्झनाको मृत्युबारे उनका आमाबुबाले अस्वाभाविक भएको दाबी गर्दै श्रीमान् र ससुराली परिवारविरुद्ध उजुरी दिएका छन्।

जाहेरीका आधारमा प्रहरीले श्रीमान् पवन भट्ट, उनका बुवा हरिदत्त भट्ट, आमा किरण भट्ट र दिदी पूजा भट्टलाई पक्राउ गरेको छ। पूजालाई आइतबार पक्राउ गरिएको हो भने अन्यलाई घटनाको तेस्रो दिन पक्राउ गरिएको हो।
पारिवारिक स्रोतअनुसार सम्झना र पवनबीचको प्रेम सम्बन्ध १३ वर्षको उमेरदेखि सुरु भएको थियो। दुवैले २०८१ फागुन १८ गते परिवारको सहमतिमा विवाह गरेका थिए। तर, विवाहपछिको छोटो समयमै श्रीमान् र ससुरालीबाट शारीरिक तथा मानसिक यातना भोग्नुपरेको माइती पक्षको आरोप छ।
गत साउन १८ गते बिहान प्रहरीले कोठाको ढोका फोडेर सम्झनाको शव बाहिर निकालेको थियो। शवमा नीलडाम र घाउचोट देखिएको भन्दै माइती पक्षले हत्या भएको आशंका व्यक्त गर्दै अन्त्येष्टि नगरी ६ दिनसम्म शव महाकाली प्रादेशिक अस्पतालमै राखेका थिए।
माइती पक्षले बुझाएको अडियो रेकर्डमा पूजा भट्टले आफ्ना भाइ पवनलाई “सम्झनालाई मारे पनि पाँच वर्ष त सजाय हुने हो, भाइ मार्दे” भन्ने उक्साहटपूर्ण कुरा गरेको प्रहरीको दाबी छ। अडियोको सत्यता प्रमाणित गर्ने कार्य भइरहेको छ।
पक्राउ परेकामाथि कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ। माइती पक्षको आरोपअनुसार, दाइजोको निहुँमा सम्झनालाई निरन्तर यातना दिइँदै आएको थियो। मृत्युको अघिल्लो दिन साउन १७ गते दम्पतीबीच झगडा हुँदा उनीहरू बेलडाँडी प्रहरी चौकी पुगेका थिए। प्रहरीको सम्झाइबुझाइपछि दुबै घर फर्किएका थिए।
सम्झनाकी बहिनी आरती भट्टका अनुसार, पवनको दबाब र परिवारको दमनका कारण सम्झनाले यस्तो चरम कदम चालेकी हुन्। सम्झनाले आफ्ना साथीहरूलाई समेत श्रीमान्को कुटपिट र मानसिक पीडाबारे बताउँदै बाँच्न नसक्ने अवस्था भएको म्यासेज पठाएकी थिइन्।
सम्झनाको मृत्युले स्थानीय समुदाय आक्रोशित बनेको छ। सहपाठी र साथीहरूले बेलडाँडी बजार र प्रहरी कार्यालय अगाडि न्यायको माग गर्दै प्रदर्शन गरेका छन्।
यो घटनाले नेपालमा दाइजो, घरेलु हिंसा र बालविवाहजस्ता गम्भीर सामाजिक समस्यालाई पुनः सतहमा ल्याएको छ। माइती पक्षले यसलाई हत्या भनेका छन् भने प्रहरी आत्महत्या दुरुत्साहनको मुद्दा बनाएर अनुसन्धान गरिरहेको छ। शवमा देखिएका नीलडाम र घाउचोटले हत्याको आशंकालाई अझ बल दिएको छ।














