कैलाली । कैलाली कारागारमा भएको हिंसात्मक आक्रमणमा मारिएका भरत चौधरीको शव परिवार बुझ्न मानेका छैनन् । धनगढी उपमहानगरपालिका-४ का ३७ वर्षीय भरत चौधरीको शव चार दिनदेखि सेती प्रादेशिक अस्पतालमा छ । लागुऔषध मुद्दामा ६ महिनादेखि कैद भुक्तान गरिरहेका चौधरीको शुक्रवार राति कारागारभित्रै कैदीबन्दी समूहबीच झडपमा परि ज्यान गुमाएका हुन् ।

कारागारको पुरुष ‘ए’ ब्लकमा रहेका कैदीबन्दीको समूहले भित्ता फुटाएर ‘बी’ ब्लकमा रहेका चौधरीसहितका ४९ जना कैदीबन्दीमाथि साङ्घातिक आक्रमण गरेका थिए । राति सेती प्रादेशिक अस्पताल पुर्याइएका चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक चौधरीको शव परिवारले बुझ्न मानेका छैनन् ।
मृतकका परिवारले हत्यामा संलग्न कैदीबन्दीको पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने, उनकी १५ वर्षीया छोरीलाई सरकारले निस्शुल्क शिक्षाको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।
मृतकको परिवारलाई प्रदेश सरकारले राहत स्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । तर, चौधरीको परिवाले छोरीलाई सरकारले निस्शुल्क पढाउनुपर्ने माग राखेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सोमबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमालले पीडित परिवारसँग छलफल समेत गरेका छन् । सो क्रममा सीडीओ हमालले धनगढी उपमहानगरपालिकाले मृतककी छोरीलाई पढाउने बचन दिइसकेको र सहयोगका लागि आफूले अन्य संघसंस्थामार्फत पहल गर्ने मौखिक प्रतिबद्धता जनाएका छन् ।
कारागारभित्र भएको हिंसात्मक घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याइने उनले बताए । मृतककी १५ वर्षीया छोरी अहिले ८ कक्षामा पढिरहेकी छन् । उनी डेढ वर्षको हुँदा आमाले दोस्रो विवाह गरेर गएको उनको परिवारले जनाएको छ ।
पीडित परिवारले घटनाको अनुसन्धानका लागि प्रहरीमा जाहेरी दिने भएका छन् । मृतकका भाइ विजय चौधरीले जाहेरी दिन लागेका हुन् । प्रहरीले पनि मृतकका आफन्तले दिने जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने जनाएको छ ।
घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा समेत पाँच सदस्यीय समिति गठन गरिएको छ ।
कारागारभित्र आफन्त वर्चश्व जमाउने उद्देश्यले कैदीबन्दीका दुई समूहबीचको मनमुटावले शुक्रवार राति भएको झगडाले हिंसात्मक रुप लिएको थियो ।
‘ए’ ब्लकका कैदीबन्दीको आक्रमणबाट ‘बी’ ब्लकमा रहेका भरत चौधरीको मृत्यु हुन पुग्यो भने अन्य ४९ जना घाइते छन् । उनीहरू मध्ये दुई जनाको अवस्था गम्भीर छ ।
उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने अन्यको सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पताल धनगढीमै उपचार भइरहेको छ ।
घटनापछि कैदीबन्दीहरुले कैलाली कारागारको बन्दी गृह पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए । करिब ४० घण्टापछि स्थानीय प्रशासनले आइतबार साँझ पाँच बजे मात्र बन्दी गृह आफ्नो नियन्त्रणमा लिएको थियो । ४९ जना बाहेक कारागारभित्र रहेका अन्य कैदीबन्दीको अवस्था सामान्य रहेको छ ।














