काठमाडौं । कैलाली कारागारको घट्नामा सुरक्षा व्यवस्थापनमा चुकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोगनबहादुर हमाल र जिल्ला प्रहरी प्रमुख (एसपी) बालनरसिंह राणालाई उन्मुक्ति दिएर अन्यलाई कारबाही गर्ने तयारी भएको छ । गृह मन्त्रालयले यी दुवैलाई उन्मुक्ति दिन सरुवासमेत गरेको छैन । ‘यस्तो बेलामा जाने मान्छे पाइएनन्’, मन्त्रालय स्रोतले भन्यो । पठाउने कर्मचारीको अभाव देखाएर उनीहरूलाई उन्मुक्ति दिन लागिएको हो ।

जिल्ला कारागार कैलालीमा गत शुक्रबार राति भएको रक्तपात प्रकरणमा जिम्मेवारी र सुरक्षा व्यवस्थापनमा चुकेका उनीहरूले यो समाचार तयार पार्दासम्म प्रहरीलाई सहज ढंगले कारागार सुरक्षामा पठाउन सकेका छैनन् । कारागार सुरक्षा व्यवस्थापनमा प्रत्यक्ष जिम्मेवार मानिएका उनीहरूलाई पदमै राखिएको हो । यद्यपि, घटनाको समय बिदामा रहेका जेलर बसन्त खत्रीलाई भने तत्काल सरुवा गरिएको छ । उनको स्थानमा नयाँ जेलरका रूपमा जालन्धर भुसाललाई खटाइएको छ ।
गत शुक्रबारराति कारागारभित्र कैदीबन्दीबीच भएको हिंसात्मक झडपमा एक जनाको मृत्यु र ४८ जना कैदीहरु घाइते भएका थिए । झडपमा धनगढी–४ का कैदी ३२ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । ४८ जना घाइतेमध्ये एक गम्भीर अवस्थाका कैदीलाई उपचारका लागि काठमाडौं पठाइएको छ भने बाँकीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । केही समयका लागि कैदीहरूले कारागारको नियन्त्रण लिएका कारण अवस्था सामान्य बनाउन सुरक्षाकर्मीलाई हम्मे परेको थियो ।
घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ। समितिलाई १० दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । कारागारभित्रको अवस्था विस्फोटक बन्दै गएको संकेत कैदीहरूले एक साताअघि नै दिएका थिए। ५९० जना कैदीले हस्ताक्षर गरी राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयमा दिएको निवेदनमा कारागार प्रशासनको मिलेमतोमा हुने गरेको भ्रष्टाचार, लागुऔषधको खुलेआम बिक्री–वितरण, नाइके छनोटमा हुने अनियमितता र आफूहरू असुरक्षित भएको उल्लेख थियो ।
‘कैदीहरूले प्रशासनबाटै आफूहरू असुरक्षित भएको, अवैध लेनदेन र लागुऔषध तस्करीबारे प्रजिअ र सुरक्षा निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको भन्दै सुरक्षाको माग गरेका थिए,’ स्रोतले भन्यो । त्यति मात्र होइन, रक्तपात हुनुभन्दा ठीक एक दिनअघि बिहीबार दुई समूहबीच झडप हुँदा ५ जना घाइते भएका थिए ।
शुक्रबार दिउँसो पनि कैदीका आफन्तले पुनः ठूलो घटना हुनसक्ने भन्दै प्रशासनलाई गुहारेका थिए, तर त्यसको बेवास्ता गरियो । शुक्रबार मध्यरात करिब १ बजे ‘नन्दु सरकार’ समूहले ब्लक ‘ए’ र ‘बी’ बीचको पुरानो बन्द ढोकाको इँटाले टालेको भित्ता फोडेर सुतिरहेका कैदीमाथि खुकुरी, रड र चक्कुले सांघातिक हमला गरेपछि कारागारको अवस्था नियन्त्रण बाहिर गएको थियो । घटनामा धनगढीका ३७ वर्षीय भरत चौधरीको मृत्यु भएपछि कैदीहरुले कारागार नै कब्जामा लिएका थिए ।
यता यसअघि मानव अधिकार आयोगले कारागारमा सुरक्षा संयन्त्र अत्यन्तै कमजोर भएको र प्रशासनको लापरबाही देखिएको प्रारम्भिक निष्कर्ष सार्वजनिक गरिसकेको छ ।मृतक चौधरीका परिवारले गम्भीर सुरक्षा लापरबाही भएको भन्दै शव उठाएका छैनन् । उनीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् ।गत असारमा सिडियो हमालले कारागार निरीक्षणका क्रममा ब्लक ‘ए’ मा मोबाइल पत्ता लगाएका थिए । त्यसपछि सात जना कैदीलाई ब्लक ‘बी’ मा सारिएको थियो । यही सरुवाले कैदीहरूबीचको मनमुटाव चर्काउँदै लग्यो । असार २८ गते विवाद हिंसात्मक बन्दा कारागारका नाइके खगेन्द्र बोगटी गम्भीर घाइते भए ।
बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा थुनामा रहेका कैदी कपिल श्रेष्ठ नेतृत्वको समूहले आक्रमण गरेको आरोप लाग्यो । ‘जेलरको मान्छे’ भएको रवाफ देखाएको भन्दै श्रेष्ठ समूह असन्तुष्ट रहेको भनाइ छ । त्यही घटनापछि कैदीहरूले सिडियो र एसपीकै अगाडि जेलर खत्रीविरुद्ध नाराबाजी गर्दै “जेलभित्र मनोमानी बन्द गर” माग गरेका थिए ।
तर, प्रशासन र प्रहरीले घटनालाई सामान्य रूपमा लिँदै ठोस कदम चालेन । तनाव मेटिनुको साटो कारागारभित्र गुटबन्दी झन् चर्कियो । बोगटी कुटिएको एक महिना नपुग्दै बिहीबार साँझ फेरि झडप भयो, जसमा पाँचजना घाइते भए । बडुवाल हत्या अभियोगमा रहेका समूहले पुनः आक्रमण गरेको आरोप लाग्यो । तर, त्यसको भोलिपल्ट शुक्रबार दिउँसो मिलापत्र भयो । कैदीहरुले अब झडप नगर्ने बाचा गरे । तर राति झडप अझ भयावह बन्यो ।
ब्लक ‘ए’ र ब्लक ‘बी’का कैदीबन्दीबीच कारागारको नाइके बन्ने होडबाजी चलेको थियो । सोही कारण झडप हिंसात्मकमा परिणत भएको सिडियो हमाले बताएका छन् । गत असार १ गते बैंकिङ कसुर अभियोगमा पक्राउ परेका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिश पालीको पनि कारागारमै शंकास्पद मृत्यु भएको थियो ।
असार २ गते राति कारागारको बाथरुम नजिक अचेत फेला परेका उनलाई उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत घोषणा गरिएको थियो। उनको कुटपिटबाट हत्या भएको आरोपमा प्रहरीकै एक कर्मचारी पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
एक महिनाभित्र बारम्बार हुने झडप, हत्या प्रयास र ज्यान जानेसम्मका घटनाले जिल्ला कारागारको सुरक्षा व्यवस्थापनमा गहिरो प्रश्नचिन्ह खडा गरेको छ । ‘सुरक्षा संवेदनशील स्थल’ मानिने कारागारमै यस्तो अवस्थाले प्रशासन र प्रहरीको असफलता स्पष्ट पारेको छ । सिडियो हमाल र एसपी राणाले जिल्लाको जिम्मेवारी सम्हाले यता कारागारमा तनाव बढ्दै गएको थियो । यो विषयमा गृहमन्त्रालयले जिम्मेवार भएर प्रस्तुत हुन सकिरहेको छैन ।











