काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सरकारले आफू अनुकूल कानुन बनाउने, न्यायपालिकाको स्वतन्त्रता कुण्ठित गर्ने र मिडियामाथि नियन्त्रण गर्ने कार्य गरिरहेको भन्दै प्रधानमन्त्री ओलीलाई किताब पढ्न सुझाव दिएका छन् । मङ्गलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा परेको टिप्पणी गरे ।

खनालले भिजिट भिसा प्रकरण, पासपोर्ट छपाइमा भागबण्डा, ‘कुलिङ पिरियड’ को दुरुपयोग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने अनियमितताप्रति संसद् र सरकार उदासीन रहेको आरोप लगाए ।
उनले लिचिबारीको अडियो टेप, पासपोर्ट छपाइमा अनियमितता र गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको सूचनालाई बेवास्ता गरिएको बताए । उनले सरकारले विपक्षीको आवाज दबाउने प्रयास गरिरहेको आरोप लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘हाउ डेमोक्रेसीज् डाई’ किताब पढ्न र आफ्नो सरकारको एक वर्षको कार्यको मूल्याङ्कन गर्न आग्रह गर्दै खनालले भने, ‘लोकतन्त्र मास्न खोज्नेहरूले आफू अनुकूल कानुन बनाउँछन्, न्यायपालिकालाई कमजोर पार्छन् र मिडियामाथि नियन्त्रण गर्छन् ।’ उनले सुशासन र भ्रष्टाचारी मन्त्रीहरूलाई पदमुक्त गर्न माग गरे। खनालले पारदर्शिता र भ्रष्टाचारविरुद्ध कदम चालेर जनविश्वास जित्नुपर्नेमा जोड दिए ।














