काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले युवाहरूलाई सकारात्मक सोच राख्न र जीवनोपयोगी सीप सिकेर दक्ष बन्न सुझाएकी छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल युथ फाउण्डेसनले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको दुरुपयोगले युवाहरू कुलतमा फसिरहेको बताइन् ।

‘टिकटकजस्ता सामाजिक सञ्जाललाई ज्ञान र सीप वृद्धिमा प्रयोग गर्नुस्, नकारात्मकतामा नलाग्नुस्,’ उनले भनिन् । युवा वर्गलाई देशको प्रमुख पुँजी भएको बताउँदै उनले युवाहरूलाई ऊर्जा र क्षमता देश विकासमा लगाउनुपर्नेमा जोड दिइन् । नेपालको ठूलो जनसङ्ख्या युवा भएकाले उनीहरूले नै मुलुकको भविष्य निर्माणमा योगदान गर्न सक्ने उनको भनाइ थियो ।
मन्त्री राणाले युवाहरू विदेश जानुहुन्छ भने ज्ञान, सीप र पुँजी लिएर स्वदेश फर्कन आग्रह गरिन् । ‘हाम्रै माटोलाई समृद्ध बनाउनुपर्छ,’ उनले भनिनन् । स्वदेश फर्किएका युवाले विदेशमा सिकेको सीप र पुँजीले उद्यमशीलता अघि बढाएको उदाहरण दिँदै उनले सरकारको सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गरिन् । प्रविधि, शिक्षा, खेलकुद र उद्यममा नेपाली युवाले अन्तर्राष्ट्रिय स्तरमा क्षमता प्रदर्शन गरेको उल्लेख गर्दै उनले नेपालीको परिश्रमी र इमानदार पहिचानलाई पुँजीका रूपमा उपयोग गर्नुपर्ने बताइन् ।














