Logo
Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा साक्षी झिकाउन आदेश


0
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा जिल्ला अदालत काठमाडौंले साक्षी झिकाउने आदेश दिएको छ।

मंगलबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले साक्षी झिकाउन आदेश दिएको सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत युरोपेली देशमा पठाउन ठूलो रकम असुली गरेको आरोप लागेको थियो। यस घटनामा ठगी, लिखत किर्ते, राज्य विरूद्धको कसुर र संगठित अपराध कसुरको मुद्दा २०८० जेठ १० गते दायर भएको थियो।

एमाले नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, इन्द्रजित राई, बेचन झा, पूर्वसभासद आङ्टावा शेर्पालगायत प्रतिवादी रहेको मुद्दामा दुई वर्षपछि अदालतले निरन्तर सुनुवाइ गरेको हो। यसमा अब बाँकी रहेका साक्षीहरू उपस्थित गराएपछि पुन: सुनुवाइ हुनेछ।

यो प्रकरणमा सुरूमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।

पछि थप जाहेरीको आधारमा केशवप्रसाद दुलालसहित पाँच जनाविरूद्ध फेरि २०८१ वैशाख ९ गते पूरक अभियोग दर्ता भएको थियो र बेचन झा पक्राउ परेपछि उनीविरूद्ध साउन २९ गते पूरक अभियोग दायर भएको थियो।

भुटानी शरणार्थीका रूपमा अमेरिका लैजाने आश्वासन दिएर आफूहरूसँग करोडौं पैसा ठगी गरेको भन्दै २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसनधान कार्यालयमा ८१ जनाले उजुरी दिएका थिए।

उनीहरूले ठगी गर्ने गिरोहका प्रमुख नाइके भनेर केशव दुलाल, सानु भण्डारी लगायतविरूद्ध उजुरी दिएका थिए।

आफूहरूसँग १३ करोड रूपैयाँ उठाएको भन्दै कैयन् प्रमाणसहित उनीहरूले उजुरी गरेका थिए। दाङका गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले ८१ जनाको तर्फबाट सो उजुरी दर्ता गराएका थिए।

बुढाथोकी र रेग्मी दुवैले अमेरिका लैजाने भन्दै दाङमा मानिसहरू भेला गरी पैसा उठाएर गिरोहलाई बुझाएका थिए। अमेरिका जान उनीहरूको परिवारले पनि पैसा बुझाएको थियो। अमेरिका जान नपाएपछि पीडितहरूले पैसा मागेर उनीहरूलाई नै र्‍याखर्‍याख्ती पार्न थाले। त्यसपछि उनीहरूले दुलाल र गुरूङविरूद्ध कार्यालयमा उजुरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्