काठमाडौं । कुवेतमा विषाक्त मदिरा सेवनबाट केही नेपालीको मृत्यु भएको छ । मदिरा सेवनबाट ३५ जना अस्पतालमा भर्ना भएकोमा केही नेपालीको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा भर्ना भएकामध्ये केहीको अवस्था गम्भीर रहेको र केही अवस्था सामान्य रहेको जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनसाथ विभिन्न अस्पतालमा पुगेर नेपाली बिरामीको अस्थाबारे जानकारी लिने काम भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
घटनाबारे सम्बन्धित अस्पताल र कुवेतको स्वास्थ्य मन्त्रालयका अधिकारीसँग निरन्तर सम्पर्क गरी अस्पतालमा उपचाररत बिरामीहरूको उपचारको व्यवस्था मिलाउन निरन्तर समन्वय गर्ने काम भइरहेको दूतावासले जनाएको छ । घटनाप्रति दुःख व्यक्त गर्दै दूतावासले स्वास्थ्यका लागि घातक र जोखिमपूर्ण खाद्य तथा पेय पदार्थ सेवनबाट टाढा रहन समेत अनुरोध गरेको छ ।
विज्ञप्तिमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको यकिन संख्या उल्लेख छैन । तर, विषाक्त मदिरा सेवनबाट कम्तीमा ९ जना नेपालीले ज्यान गुमाएको अस्पतालहरूलाई उदृत गर्दै दूतावासका एक कर्मचारीले बताए । उनका अनुसार विवरण संकलनको काम भइरहेको छ । मेडिकल रिपोर्ट नआउँदासम्म मृत्युको कारण र यकिन गर्न नसकिने ती कर्मचारीले बताए ।
उनका अनुसार विषाक्त मदिरा सेवनबाट तीन दिनको बीचमा ९ नेपालीको मृत्यु भएको छ । तर, मेडिकल रिपोर्ट नआउँदासम्म विषाक्त मदिरा वा अन्य के कारण भन्न सकिने अवस्था नरहेको उनले बताए ।
कुवेतस्थित स्वास्थ्य मन्त्रालयले मेथानोल मदिराका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना हुनेक्रम बढेको उल्लेख छ । नौजना नेपालीसहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ ।
कुवेतस्थित आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा बिरामीहरूको उपचार भइरहेको छ ।
कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित छ । तर, पनि लुकिछुपी हुने उत्पादन गरी अवैधानिक बेचबिखन हुने गरेको छ । विषाक्त मदिराको स्रोत पत्ता लगाउन अनुसन्धान भइरहेको स्वास्थ मन्त्रालयले जानकारी दिएको छ । विषाक्त मदिरा सेवन गरेर मृत्यु हुने र गम्भीर बिरामी हुनेमा अधिकांश निर्माण मजदुर रहेका छन् ।












