काठमाडौं । हुलाक सेवा विभागले सरदार भीमबहादुर पाँडेको तस्बीर अङ्कित हुलाक टिकट प्रकाशन गरेको छ ।
काठमाडौँमा आज हुलाक सेवा विभागद्वारा आयोजित सरदार भीमबहादुर पाँडेको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले टाँचा लगाएका हुन् ।

मन्त्री गुरुङले विभागले देशभक्त र राष्ट्रसेवकको खोजी गर्दै हुलाक टिकटमा जीवन्त बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘हुलाक टिकटले इतिहास जोगाउँछ र यस्ता राष्ट्रसेवकलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन मद्दत गर्छ ।’
सरदार पाँडे देशभक्त काजी कालु पाँडेका छैटौँ पुस्ताका सन्तती हुन् । पाँडे भारतदेखि वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपालीसमेत थिए ।
प्रशासन, कूटनीतिक, लेखनलगायत समाजसेवामा पाँडेले गरेको योगदानको सम्मानस्वरूप हुलाक टिकट प्रकाशन गरिएको मन्त्री गुरुङले बताए । यसले अग्रजको आदर गर्ने र युवा पुस्तालाई प्रेरणासमेत मिल्ने उनको भनाइ छ ।
कार्यक्रममा सरदार भीमबहादुर पाँडेका आफन्त र छोराछोरी सहभागी थिए । जसमा उनका माइला छोरा हिमालय पाँडेले बुबा भीमबहादुर पाँडेको नाममा हुलाक टिकट प्रकाशन गरिनुले राष्ट्रबाट पूरै परिवार नै सम्मानित भएको महसुस गरेको बताए ।
सो अवसरमा पृथ्वीबहादुर पाँडेले सरदार भीमबहादुर पाँडेद्वारा लिखित ‘त्यस बखतको नेपाल’ पुस्तक मन्त्री गुरुङलाई उपहार स्वरुप प्रदान गरेका थिए ।
को हुन् सरदार भीमबहादुर पाँडे ?
सरदार भीमबहादुर पाँडे एक प्रख्यात नेपाली कूटनीतिज्ञ, प्रशासक, र इतिहासकार थिए । उनले नेपालको कूटनीति, प्रशासन, र औद्योगिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए ।

सरदार भीमबहादुर पाँडेको जन्म सन् १९१५ मा रामनवमीका दिन स्याङ्जा जिल्लाको कहरे गाउँ, आरमाडीस्थित भिरकोटमा भएको थियो । उनले आफ्नो प्रारम्भिक शिक्षा दरबार हाईस्कूलबाट सुरू गरेका थिए । र, सन् १९४१ मा कलकत्ता विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरे । यस उपलब्धिसहित वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्ने पहिलो नेपाली बन्ने गौरव उनले प्राप्त गरे ।
सन् १९४२ मा उहाँ त्रि–चन्द्र कलेजमा प्राध्यापक नियुक्त भए । त्यसको एक वर्षपछि, १९४३ मा, उद्योग विभागमा प्रवेश गरे । सन् १९४४ मा तथ्याङ्क विभागको प्रमुख भई उनले नेपालको पहिलो औद्योगिक सर्वेक्षण गरेका थिए ।
यस अध्ययनको आधारमा उनले सरकारले जग्गा धितो बैंक र सहकारी संस्था स्थापना गर्न सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा बनेपामा नेपालकै पहिलो सहकारी संस्था र जग्गा धितो बैंक स्थापना भएको थियो ।
उनको अध्ययन यति गहन थियो कि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरको नेतृत्वमा रहेको सरकारले अन्य जिल्लाहरूमा पनि यस्तै औद्योगिक सर्वेक्षण सञ्चालन गर्न निर्देशन दियो ।
यसै क्रममा नेपालमा पहिलो पटक गोरखापत्रमा विज्ञापन प्रकाशित गरी स्नातक तह पूरा गरेका वा अध्ययनरत विद्यार्थीहरूलाई सर्वेक्षक र तथ्याङ्क सङ्कलनकर्ताको पदका लागि आवेदन दिन आह्वान गरियो ।
छनोटमा परेका पाँच जनामध्ये नरकान्त अधिकारी र सत्यमोहन जोशी पनि थिए । यी सर्वेक्षकहरूको प्रतिवेदनकै आधारमा नेपालमा उद्योग स्थापनाको प्रारम्भिक कदम चालिएको थियो ।
सन् १९४५ मा सुब्बा भीमबहादुर पाँडेलाई लन्डनस्थित नेपाली दूतावासमा काउन्सिलरका रूपमा पठाइयो । उनको प्रमुख जिम्मेवारी युरोपेली देशहरूको विकास मोडेल अध्ययन गरी नेपालमा विकासको सम्भावित बाटो पहिचान गर्ने थियो ।
विभिन्न युरोपेली देशहरूको भ्रमणपछि उनले स्वीस मोडेललाई नेपालका लागि उपयुक्त ठहर गर्दै एक प्रतिवेदन तयार पारे र काठमाडौं पठाए । यस प्रतिवेदनकै आधारमा सन् १९५० मा प्रसिद्ध भूगर्भशास्त्री टोनी हेगनसहित चार सदस्यीय स्वीस टोली नेपाल आएको थियो ।
सन् १९५२ मा योजना सचिवमा नियुक्त भएपछि उनले अमेरिकाको टेनेसी उपत्यका प्राधिकरणबाट प्रेरित भई राप्ती उपत्यका प्राधिकरण स्थापना गरेका थिए ।राप्ती उपत्यका प्राधिकरणलाई अमेरिकी सरकारद्वारा वित्तीय सहयोग प्रदान गरिएको थियो ।
त्यस्तै उनले बृहत् औलो उन्मूलन अभियानसँगै कोजवे र ग्राभेल सडकहरूको निर्माण, काठ काट्ने र मिलहरू खोल्ने कार्य आरम्भ गरेका थिए ।
साथै, चितवन उपत्यकालाई पहाडबाट तराईमा मानिसहरूको पुनर्वासका लागि खुला गरियो, जसले कृषि योग्य जमिनको क्षेत्रफल उल्लेखनीय रूपमा बढायो । यस सम्पूर्ण प्रक्रियामा सरदार भीम बहादुर पाँडेको महत्वपूर्ण भूमिका रहेको थियो ।
सन् १९५१ देखि १९७२ सम्मको अवधिमा उनले विभिन्न मन्त्रालयमा सचिव, सल्लाहकार र दूतावासमा राजदूतका रूपमा सेवा गरे । यही अवधिमा नेपाल–चीन सीमामा रहेका १७ भारतीय चेकपोस्ट हटाउने र भारतसँग व्यापार तथा पारवहन सन्धि गर्ने जस्ता ऐतिहासिक कार्य सम्पन्न भए ।
सन् १९७२ मा उनी नेपालका महालेखा परीक्षक नियुक्त भए र आफ्नो कार्यकालमा तत्कालीन वार्षिक बजेट बराबरको बेरुजु फछ्यौट गर्न सफल भए ।
काजी कालु पाँडेका छैटौँ पुस्ताका वंशज सरदार भीम बहादुर पाँडे प्रख्यात लेखकसमेत हुन् । उनले दुई महत्वपूर्ण कृतिहरू “राष्ट्र भक्तको झलक“ (नेपाल एकीकरणमा पाँडे परिवारको योगदानबारे) र “त्यस बखतको नेपाल“ (राणा शासनको अन्तिम तीन दशक समेटिएको पाँच खण्डीय कृति) लेखेका छन् । उनले आफूले सुनेको, देखेको र भोगेको अनुभव भावी पुस्तालाई प्रेरणा दिने उद्देश्य राखेका थिए ।














