Logo
Logo

बार्दलीमा विद्या: इतिहास, भावना र राजनीतिक सन्देशको त्रिवेणी


945
Shares

काठमाडौं । बार्दली घरको एउटा विशेष भाग हो । सामान्यतया दोस्रो तलादेखि माथि घरको बाहिरपट्टि निकालेर बनाइएको भागलाई बार्दली भनिन्छ । बार्दली अहिले वास्तुकलामा मात्रै सीमित छैन, शक्ति प्रदर्शनको माध्यम पनि बनेको छ ।

बार्दलीले नेपाली राजनीतिमा फरक अर्थ बोकेको छ । मध्यकालीन मल्ल र शाह राजवंशका दरबारमा बार्दलीको विशेष महत्त्व थियो । राजा–रानीहरूले जनतासँग संवाद गर्न, उत्सवमा उपस्थित हुन वा आफ्नो उपस्थिति देखाउन बार्दलीको प्रयोग गर्थे ।

यही परम्परा नयाँ स्वरूपमा अहिलेका नेताहरूले दोहो¥याएका छन् । गणतन्त्र पश्चात् नेताहरूले पनि बार्दलीलाई त्यस्तै रूपमा प्रयोग गर्दै आएका छन् । बार्दली उनीहरूको लागि घरको भाग मात्र नभएर शक्ति प्रदर्शनको प्लेटफर्म बनेको छ । नेता बार्दलीमा उभिएर कार्यकर्तालाई हात हल्लाउँछन्, भाषण गर्छन् र आफ्नो लोकप्रियता देखाउन खोज्छन् । यसले ‘म यहाँ छु, मेरो साथमा जनसमुदाय छ’ भन्ने सन्देश दिन्छ ।

२०७८ असार ३० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतले बर्खास्त गर्‍यो । पदमुक्त भएपछि बालुवाटारबाट बालकोट पुगेका ओली बार्दलीमा उभिए । उनले रोषपूर्ण भाषण गर्दै भने– ‘जनादेशबाट होइन, जाली झेली र षड्यन्त्रका कारण अदालतबाट प्रधानमन्त्री तोक्ने गलत नजिर स्थापित भयो ।’

त्यसको झण्डै डेढ वर्षपछि, २०७९ पौष १० गते बालकोटमा बार्दलीमा फेरि दृश्य दोहोरियो । तर, बार्दलीमा उभिएर हात हल्लाउने एकजना मात्रै थिएनन्, दुई जना थिए । एमाले नेतृत्वमा बनेको सातदलीय गठबन्धनले नयाँ सरकार गठनमा सहमति गरेपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बार्दलीमा उभिएर भिडलाई अभिवादन गरे । हात हल्लाएर दुवै नेताले खुसी साटेपछि बालकोट निवासमा भेला भएका दुवै पार्टीका नेताहरूले ‘नेकपा जिन्दावाद’ र ‘पार्टी एकता छिटो गर’ भन्दै नारा लगाए । 

त्यसअघि ओली र प्रचण्डको पानी बाराबार थियो । २०७९ को आमनिर्वाचनमा नेपाली कांग्रेस र माओवादीले गठबन्धन गरेरै निर्वाचनमा गएका थिए । तर, निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच को पहिला प्रधानमन्त्री बन्ने भन्नेमा हानथाप भयो । देउवाले पहिला प्रधानमन्त्री बन्न नदिएपछि प्रचण्ड बालकोट पुगे । जहाँ, ओलीले प्रचण्डलाई साथ दिए र प्रचण्ड नेतृत्वमा सरकार बनाउने सहमति भयो । त्यसपछि ओली–प्रचण्ड विजयीस्वरुप बार्दलीमा निस्किएर अभिवादन गरेका थिए । 

अहिले नेपाली राजनीतिमा अर्को यस्तै दृश्य देखिएको छ । एमालेले सक्रिय राजनीतिमा प्रतिबन्ध लगाएको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार काठमाडौंको थापागाउँमा सम्पर्क कार्यालय खोलिन् ।  उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले आफू एमालेकै कार्यकर्ता भएको र रहिरहने बताइन् । 

घरको तेस्रो तलाको दुईवटा कोठा विद्याको लागि बनाइएको छ, जहाँबाट उनी राजनीतिक गतिविधि सञ्चालन गर्नेछिन् । कोठा अगाडि बार्दली पनि  छ । बार्दलीमा उभिएर हात हल्लाउँदै उनले भिडलाई अभिवादन गरिन् । ओलीले सर्वोच्चको परमादेशपछि बालकोटबाट अभिवादन गरेकोजस्तै ।

आगामी महाधिवेशनमार्फत पार्टी नेतृत्व लिने योजना सहित सक्रिय राजनीतिको घोषणा गरेकी विद्यालाई एमालेले पार्टी राजनीतिमा प्रतिबन्ध लगाएको थियो । गत साउनमा सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी विधान, संवैधानिक भावना, मूल्य–मान्यता, नैतिक मानक र विगतका नजिरहरूका आधारमा भण्डारीको पुनः प्रवेशमा रोक लगाएको थियो । सो निर्णयसँगै उनकी पार्टी सदस्यता स्वतः रद्द भएको थियो ।

विद्याले सम्पर्क कार्यालय खोलेको भवन ऐतिहासिक कारणले विशेष छ । त्यही घरमा उनका पति जननेता मदन भण्डारीले चुनाव प्रचारप्रसारका लागि प्रयोग गरेका थिए । २०४८ सालको आम निर्वाचनमा मदनले चुनाव प्रचारको घरलाई सम्पर्क कार्यालय बनाएका थिए । आज विद्याले सोही घरलाई सम्पर्क कार्यालयको रूपमा प्रयोग गरेकी छन् । 

यसले राजनीतिक वृत्तमा मात्र चर्चा पाएको छैन, गहिरो प्रतीकात्मक अर्थ पनि दिएको छ ।

पहिलो कुरा, मदन भण्डारीले आफ्नो लोकप्रियता, विचार र संगठनात्मक शक्तिबाट एमालेलाई स्थिर आधारमा उभ्याएका थिए । त्यही घरबाट सुरु भएको अभियानले पार्टीलाई देशव्यापी बलियो शक्ति बनाएको थियो । अहिले विद्याले त्यही ठाउँ रोज्नु भनेको आफूलाई मदनको राजनीतिक वारिसको रूपमा पुनः प्रस्तुत गर्नु हो ।

दोस्रो कुरा, भावनात्मक तथा प्रतीकात्मक सन्देश हो । एमाले समर्थक वा वामपन्थी आन्दोलनप्रति भावनात्मक नाता राख्ने कार्यकर्ताका लागि त्यो घर स्मारकजस्तै छ । त्यहाँबाट काम गर्ने निर्णयले कार्यकर्तालाई ऐतिहासिक सम्झना मात्र दिलाउँदैन, पुनः भावनात्मक आवेग जगाएर राजनीतिक सन्देशलाई बल दिन खोजिएको छ ।

तेस्रो कुरा, राजनीतिक सन्देश पनि स्पष्ट छ । राष्ट्रपति पदबाट अवकाश पाएपछि विद्या एमालेको सक्रिय राजनीतिमा फर्कन खोजेकी थिइन् । तर, ओलीले असुरक्षा महसुस गरेपछि उनलाई एमालेले प्रतिबन्ध नै लगायो । त्यसैले विद्याले ‘मदनको घर’मा 
सम्पर्क कार्यालय खोल्नु भनेको आफू पार्टीको ऐतिहासिक र मूल पृष्ठभूमिबाट विचलित नभएको संकेत दिनु हो । 

चौथो कुरा, यसलाई आगामी राजनीतिक सक्रियताको संकेतको रूपमा पनि बुझ्न सकिन्छ । कार्यालय खोल्नुले देखाउँछ कि उनी सक्रिय राजनीतिबाट टाढा बस्ने होइनन्, बरु आफ्नो राजनीतिक प्रभाव पुनः संगठित गर्दै अघि बढ्ने छिन् ।

पाँचौं कुरा, मदनको आदर्शलाई जीवन्त पार्ने प्रयास पनि यसमा छ । विद्याले त्यही घर रोज्नु भनेको विचार, इतिहास र संगठनलाई पुनर्जीवित गर्ने प्रयास पनि हो । 

संक्षेपमा, मदन भण्डारीको चुनाव प्रचारको घरमा सम्पर्क कार्यालय खोल्नु केवल स्थानको चयन मात्र होइन, इतिहास, भावनात्मक राजनीति र रणनीतिक संकेतको संयोजन हो । 

त्यस्तै बार्दलीमा उभिएर अभिवादन गर्नुको पनि खास अर्थ छ ।  जसरी ओलीले सर्वोच्चको परमादेशपछि बालकोटबाट आफू कमजोर छैन भन्ने सन्देश दिन बार्दलीबाट अभिवाद गरेका थिए,  त्यसरी नै विद्याले पनि एमालेले रोक लगाए पनि आफू कमजोर नभएको सन्देश दिएकी छिन् । 

यसले विद्यादेवी भण्डारीको भविष्य राजनीतिक भूमिका, एमालेसँगको पुनः निकटता र आफूलाई मदन भण्डारीको राजनीतिक उत्तराधिकारीका रूपमा स्थापित गर्ने प्रयासलाई स्पष्ट पार्छ । 

विद्याले घरलाई सम्पर्क कार्यालय बनाउनुले मदन भण्डारीको स्मृति र विचारलाई सम्मान गरेको छ । यो कदमले उनको व्यक्तिगत र राजनीतिक जीवनमा मदन भण्डारीको प्रभाव झल्काउँछ ।

बार्दलीमा उभिएर कार्यकर्तासँग जोडिनुले उनले सक्रिय राजनीतिमा फर्केको संकेत दिएको छ । विद्याले मदन भण्डारीको चुनाव प्रचारको घरमा सम्पर्क कार्यालय खोल्नु इतिहास, भावना र राजनीतिका त्रिवेणी सन्देशको प्रतीक बनेको छ । यसले मदन भण्डारीको विरासत जीवित राख्दै विद्यादेवीको राजनीतिक सक्रियताको नयाँ अध्यायको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्