Logo
Logo

एउटा गल्ती छोप्न अर्को गल्ती गर्दै प्रचण्ड


शरद् रिजाल

2.4k
Shares


नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निष्कर्ष विपरीत राजनीतिक घटनाक्रम विकसित भएपछि विगतका निर्णयको विरोधाभाष उत्पन्न हुने गरी नयाँ निष्कर्षमा पुगेका छन् । सरकारको आयु, एमाले र नयाँ सरकारबारेका उनका निष्कर्ष अन्ततः निरर्थक साबित भएपछि प्रचण्ड फेरि त्यही विगतकै आफ्ना निष्कर्षको विरोधाभाषयुक्त नयाँ निष्कर्षमा पुगेर वर्तमान सरकारबारे आफ्नो धारणा बदलेका छन् ।

सरकारबाट बाहिरिए लगत्तै केपी शर्मा ओली नेतृत्वको सरकारलाई अपवित्र र अप्राकृतिक गठबन्धनको संज्ञा दिएका उनले यो सरकार एक दुई महिनाभित्रै ढल्नै लागेको बताउँदै आएका थिए । उनले ओली नेतृत्वको सरकार ढलेर आफ्नै दलको समर्थनमा नयाँ सरकार बन्ने बताएका थिए ।

गत वर्ष ओली सरकार, आफ्नो पार्टीको सरकारमा सहभागिता र एमालेबारे निकालेका तथ्यहीन तीन निष्कर्ष कुनै पनि मेल खाएनन् । सरकारको आयु दुईदेखि तीन महिना, आफ्नो पार्टीको समर्थनमा नयाँ सरकार बन्ने र एमालेमा नयाँ ध्रुवीकरण हुने उनको निचोड थियो ।

तथापि, प्रचण्डले भनेझैँ यी निष्कर्ष कुनै पनि परिणाममुखी देखिएनन् । बरु उल्टै ओली सरकार झनै मजबुदरुपमा निरन्तरता पाइरहेको छ भने एमालेमा विद्या भण्डारीलाई निषेध गरिएको छ ।

अर्कोतिर यो दुई वर्षको अवधिमा सरकारका लागि लालयित भएर उनी बाह्य र आन्तरिक शक्तिसँग अनुनय विनय गर्दा पनि परिणाम हात लागेन ।

त्यही विगतको आफ्नो मनोगत निष्कर्ष विपरीत अब प्रचण्डले कात्तिकदेखि सरकार विरोधी आन्दोलन गर्ने घोषणा गरेका छन् भने, एकीकृत समाजवादी र विप्लव नेकपासँग एकता गर्ने निष्कर्षमा पुगेका छन् । यस्तै नयाँ दल रास्वपासँग त उनको अघोषित सहकार्य नै सुरु भइसकेको छ ।

यसरीे हचुवाको भरमा निष्कर्षमा पुग्दा त्यसलाई पुनः सच्याएर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्थामा प्रचण्ड पुगेका छन् । यी आफ्ना कमजोरी लुकाउन केही दिन अघि उनले नेपालको सम्पूर्ण राजनीति आफ्नै काँधमा रहेको बताउँदै आफूले छाडे सबै ढल्ने आत्मालाप व्यक्त गरेका थिए । त्यसको जवाफ दिँदै उनकै पार्टीका उपमहासचिव जनार्दन शर्माले शेषनागले पृथ्वी बोकेको कुरा दन्त्य कथा भइसकेकाले कसैले छाडेमा पृथ्वी चल्छ, केही ढल्दैन भन्दै जवाफ फर्काए ।

यसरी विगतमा एक अभिव्यक्तिले मुलुकै थर्कमान हुने शक्तिशाली प्रचण्ड अब हाँसोका पात्रमा परिणत हुन थालेका छन् । उनका अभिव्यक्ति पार्टी र देश लक्षित भन्दा पनि आफ्नै गुणगानमा समय खर्चिने अवस्थामा पुगेको छ ।

आफ्नै पार्टीमा एकाधिकार लादेर वैचारिक नेताहरूलाई पार्टी छाड्न बाध्य पार्दै एकछत्र राज गरेका प्रचण्डले आफूलाई नै सर्वेसर्वा बनाएर आफ्नै देवत्वकरण गर्न सरकारमा नभए पनि नेपालको राजनीति आफैँले थेगेको अभिव्यक्ति दिन पुगे । हरेक पटक पार्टीको जनमत घट्दै रस्सातालमा पुग्दा समेत उनी भने अझै आफ्नो उच्च कदको भ्रममा परेर सबै आफैँले थेगेको स्वैरकल्पनामा बाच्न विवश छन् ।

उनका आसेपासे, सल्लाहकार र सचिवालयले समेत यसको हेक्का राख्दै वास्तविकता देखाउने आँट गर्न नसक्नु झनै दुर्भाग्यपूर्ण छ । यसले झनै प्रचण्ड मैमत्त भएर आफ्नो एकल बहादुरी प्रदर्शन गर्दै आफू बाहेक अरू केही नभएको भ्रमित निष्कर्षमा पुगेर कालान्तरमा ‘बादशाह नाङ्गै’को अवस्थामा पुग्ने खतरा छ । त्यसैले समयमै प्रचण्डलाई सचेत गराउन आवश्यक छ ।
अर्कोतिर माओवादीको ३१ लाख मत झरेर ११ लाखमा पुग्दा समेत प्रचण्ड अझै आफूले आफैँलाई महान् साबित गर्ने प्रयत्नस्वरुप आत्मप्रशंसामा रमाउनु ‘हुटिट्याउले आकाश थामे’जस्तै हो ।

माओवादी युद्धकालदेखि नै आफ्ना हरेक असफल निर्णयलाई ढाकछोप गर्न नयाँ फण्डा उनले दिँदै आएका छन् । तर, समय क्रममा सबै उदाङ्गो भएर आफ्नो कमजोरी देखिएपछि गल्ती भएको भन्दै आत्मालोचना गर्न तयार हुने उनको विशेषता हो ।

अहिले पनि पार्टीभित्र उठेका प्रश्नलाई निस्तेज पार्न र आफ्नो कमजोरी लुकाउन आफैँले आफैँलाई संसार थेगेको शेषनागको दर्जामा पुराएका छन् । तर, प्रचण्डको नेतृत्वकालमै उनका आफ्नै हर्कतले पार्टी कमजोर भएको दृश्य जगजाहेर छ ।

तीन पटक मुलुकको प्रधानमन्त्री भइसकेका प्रचण्ड अमुक पार्टीका नेता मात्रै होइनन् । उनीसँग मुलुक र जनताको पनि सकारात्मक अपेक्षा छ । तर, अस्थिर र आफूलाई केन्द्रमा राखेर हरेक निर्णय गर्ने उनको प्रवृत्तिले नेपाली राजनीति झनै वितृष्णामय बनाउँदै लगेको छ ।

विद्यमान दल र नेताहरूप्रति जनताको बढ्दो असन्तोष र आक्रोशको एक प्रमुख कारण माओवादी र प्रचण्डकै प्रवृत्ति पनि हो भन्दा अत्युक्ति नहोला । किनभने, लामो सशस्त्र सङ्घर्ष सहित भुईंमान्छेको मुद्दा लिएर राष्ट्रिय राजनीतिमा उदय भएको दल पुराना भन्दा झनै भ्रष्ट भएपछि जनताको निराशा बढेको हो ।

त्यसैले माओवादी र त्यसका अध्यक्ष प्रचण्डको क्रियाकलापले राष्ट्रिय राजनीतिमै प्रभाव पार्ने भएकाले उनी सर्वशक्तिमान बन्न ‘राजनीति फोहोरी खेल’ भन्ने भनाई सत्य साबित गराउने अधिकार छैन ।

उसोत उनले आफ्नो पार्टीमा दलाल र बिचौलियाको हालीमुहाली रहेको पार्टीको उत्पादन विभागको कार्यक्रममा सार्वजनिक रूपमै स्वीकारेका छन् । आइतबार पार्टी कार्यालयमै आयोजित कार्यक्रममा प्रचण्डले पार्टीमा दलाल र बिचौलिया प्रवृत्ति हाबी भएको भन्दै अब उनीहरूलाई स्थान नदिने बताएका थिए ।

उनको आफ्नै उपहास हुने गरी आएको यस अभिव्यक्ति फेरि अर्को विरोधाभासपूर्ण छ । पार्टीमा व्याप्त दलाल र बिचौलिया प्रवृत्ति हाबी हुनुमा मुख्य जिम्मेवार को हो ? त्यसको जबाफदेही मूल नेतृत्व हो कि अरू कोही ? यी अनुत्तरित प्रश्नको जवाफ प्रचण्डले दिनुपर्छ । आफूले छाडे सबै ढल्ने महामानवको दर्जामा पुराएका उनले पार्टीमा मौलाएको गलत प्रवृत्तिको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? कि उनले गरेको सबै गल्ती माफ हुने हो ?

उनी आफैँ ठेक्का लिएर समयमै निर्माण कार्य सम्पन्न नगरेर कालोसूचीमा परेका विवादास्पद ठेकेदार शारदा अधिकारीको घरमा बस्ने गर्दछन् । अनि, अरू नेतामाथि दलाल र बिचौलिया प्रवृत्ति हाबी भएको बताएर तिनलाई पार्टीमा स्थान नभएको घुर्की दिनु आफ्नै उपहास हुने अनैतिक कार्य हो ।

प्रचण्ड पनि प्रश्नभन्दा बाहिर छैनन् । त्यसैले सकारात्मक कार्यको मात्रै जस लिने उनले पार्टीभित्रका हरेक गलत प्रवृत्तिका भागीदार समेत उनी स्वयं हुन् । विगत ३६ वर्षदेखि पार्टीको एकल नेतृत्वमा रहेका उनले आफैँबाट बिचौलियामुक्त पार्टी बनाउने उद्घोष कार्यान्वयन गर्नुपर्दछ । होइन भने कार्यकर्ता फकाउन र लोकप्रियताका लागि मात्रै दिइने फगत यस्ता अभिव्यक्तिले आफ्नै कद घटाउँदै झनै हास्यपात्रमा परिणत गर्दछ ।

प्रतिक्रिया दिनुहोस्