काठमाडौं । नेपाली फिल्म ‘यो मन’को गीत रेकर्डिङ सम्पन्न भएको छ । हाल भारतको सिक्किम र त्यस आसपासका छायाँकन भइरहेको यस फिल्मको गीत अनामनगरस्थित सायरेम स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

सायरेम स्टुडियो नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गायक राजेशपायल राईको हो । पछिल्लो समय अधिकांश नेपाली फिल्मका गीतहरु सायरेम स्टुडियोमा रेकर्डिङ हुँदै आएको छ । शुक्रबार फिल्म ‘यो मन’को शीर्ष गीत आफ्नै स्टुडियोमा रेकर्डिङ गरेपछि गायक राजेशपायलले भने, ‘गीत एकदमै राम्रो बनेको छ । अवश्य पनि दर्शक तथा श्रोताले यो गीतलाई रुचाइदिनेछन् भन्ने आशा, विश्वास र अपेक्षा छ ।’
गीतकार सिर्जनाको कार्कीको शब्द रचना रहेको ‘यो आँखाको तिमी नानी’ बोलको उक्त लभसङमा राजेशपायलसँगै मोनिका राईले पनि स्वर दिएकी छन् । मोनिका सिक्किमकी गायिका हुन् ।
सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’बाट चर्चामा आएकी मोनिकाका लागि फिल्म ‘यो मन’ अर्को ‘टर्निङ प्वाइट’ बन्न सक्छ किनकि नेपाली पाश्र्व गायनमा एकछत्र राज गर्दै आएका ‘राई इज किङ’ अर्थात राजेशपायलसँग मोनिकाले फिल्म ‘यो मन’मा गाउने अवसर पाएकी छन् । यो नै मोनिकाको सांगीतिक करिअरको एउटा ‘टर्निङ प्वाइन्ट’ हो ।
देउराली फिल्म प्रोडक्शन, सिक्किमको प्रस्तुती रहेको फिल्म ‘यो मन’को निर्देशन नन्दु कोइरालाले गरिरहेका छन् । उनका अनुसार हाल यो फिल्मको ४० प्रतिशत छायाँकन भइसकेको छ । फिल्म ‘यो मन’ पारिवारिक, सामाजिक एवं प्रेमकथामा आधारित रहेको निर्देशक कोइरालाले बताए ।











