धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित बाँदरेमोडनजिकै सुक्खा पहिरो खस्दा पृथ्वी लोकमार्ग अवरुद्ध भएको छ।

शनिबार बिहान ६ः४५ बजेतिर सडकमाथिबाट सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको हो । काठमाडौं आउजाउ गर्ने मुख्य राजमार्ग अवरुद्ध हुँदा सवारी साधनको जाम लागेको छ भने यात्रु अलपत्र परेका छन् ।
सडक अवरोध हटाउन इलाका प्रहरी पोष्ट जवाङखोलाका प्रहरी हवल्दार पदमबहादुर आलेको कमाण्ड र प्रहरी चौकी जोगिमाराका प्रहरी नायब निरीक्षक तेजबहादुर खरेलको नेतृत्वमा र इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक विकास थापाको कमाण्डमा गरी १० जना प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अवरोध हटाउन जेसीभी प्रयोगका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ । सडक पूर्ण अवरुद्ध भएपछि लामो दूरीका सार्वजनिक यातायातदेखि मालबाहक सवारीसाधन बाटोमै रोकिएका छन् ।














