Logo
Logo

मोबाइल चोरी आरोपमा कुटिएका युवकको मृत्यु


882
Shares

काठमाडौं । मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका रौतहटका एक युवाको मृत्यु भएको छ । कुटपिटपछि वीरगञ्जस्थित स्पोर्ट अस्पताल भर्ना भएका रौतहट कटहरिया नगरपालिका-४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको ११ भदौमा मृत्यु भएको हो ।

The current image has no alternative text. The file name is: rauthot.gif

घटना १६ र १७ साउनको हो । १६ साउनमा कटहरिया बजारको एक खाजा पसलमा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भङ्गले आफ्नो मोबाइल चोरी भएको आरोप लगाएर अन्य केही युवाको सहयोगमा नसिवमाथि कुटपिट गरेका थिए ।

१७ साउनमा पनि गाउँकै सञ्जय यादव र उनका भाइ विजय यादवले आफ्नो मोबाइल चोरी गरेको आशङ्कामा नसिवलाई निर्घात कुटपिट गरेका थिए । 

उनीहरूले नसिवलाई रुखमा उल्टो झुन्ड्याएर बेल्ट, साइकलको चैन, मुक्काले कुटपिट गरी मोबाइल चोरी गरेको स्विकार्न लगाएका जनाइएको छ । 

कुटपिट गरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको उद्धार गरेको थियो । प्रहरीले मोबाइल चोरीको निवेदन परे पनि नसिवले चोरी गरेको नखुलेको जनाएको छ । कुटपिटको कारणले नसिवलाई पेट र छाती दुख्न थालेपछि अस्पताल लगिएको थियो ।  

चार दिनपछि नसिवका बुबा बाबुलाल बैठाको मृत्यु भयो । कुटपिटको असरले शरीरमा दुखाइ बढ्दै थियो । नसिवलाई उपचारको लागि भदौ पहिलो साता कटहरियाको जीवन ज्योति अस्पताल लगियो । त्यहाँबाट कटहरिया हस्पिटल लगियो । त्यहाँबाट गौर अस्पताल पठाइयो ।

गौर अस्पतालमा छातीमा इन्फेक्सन भएर पिप जमेको भन्दै थप उपचारका लागि वीरगञ्ज रेफर गरियो । नारायणी अस्पतालमा आईसीयू बेड खाली नभएपछि वीरगञ्जकै स्पोर्ट हस्पिटलमा उपचारको लागि भर्ना गरियो ।

उपचारको क्रममा ११ भदौ बुधवार बिहान ३ बजे नसिवको मृत्यु भएको उनको  परिवारले जनाएको छ । नसिवका ७ वर्षीय जेठा छोरा विशाल किरिया बसेका छन् ।

प्रहरी छोड्दा नसिवको स्वाथ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । नसिवको मृत्युपश्चात् उनको परिवारले चारजनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएको छ । जाहेरीको आधारमा चारजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जसमध्ये ३२ वर्षीय गर्भुदयाललाई पक्राउ गरी कारबाही अघि बढाइएको र अन्य तीनजनाको खोजी भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्