काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक भारी अङ्कले ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार घटेर बन्द भएको नेप्सेले आइतबार पनि सोही क्रममा निरन्तरता दिएको हो ।

आइतबार नेप्से परिसूचक ३१.१७ अङ्क घटेर २७४९.८३ विन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.०३ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स २.३१ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८४ अङ्क घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ८ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको बजारमा ३२१ स्टकको ९७ हजार १७४ पटकको कारोबारमा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ४८ लाख ५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आइतबार उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६।७७ प्रतिशत बढेको छ । त्यस्तै, आशा लघुवित्तको सेयर मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अरु बढेका स्टकहरुको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना २ को इकाई नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, हिमालयन रि इन्स्योरेन्सको करिब २९ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम २६ करोड नाघेको छ ।
१३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये विकास बैङ्क उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत घटेको छ । त्यस्तै,वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।














