
काठमाडौं । सुदूरपश्चिम र मध्यपश्चिमका बासिन्दाले उमा-महेश्वर र दुवोसहितको पूजा गरी उज्याली गौरा तथा दुर्वाष्टमी पर्व हर्षोल्लासका साथ मनाएका छन् ।
काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना गरी यो पर्व मनाइएको हो, जहाँ देउडा गीत र नृत्यले रौनक थपिएको थियो । परम्परागत पोशाकमा सजिएका महिलाहरूले देउडा नृत्य प्रस्तुत गर्दै सांस्कृतिक पहिचान झल्काए ।
यो पर्व सामान्यतः भाद्र शुक्ल अष्टमीमा मनाइन्छ, तर यस वर्ष अगस्त्य ऋषिको उदय भाद्रअघि नै भएकाले श्रावण शुक्ल अष्टमीमा मनाइयो । शास्त्रीय मान्यताअनुसार, अगस्त्य ऋषिको उदय भएका वर्षमा गौरा श्रावणमै मनाइन्छ । शुक्ल पक्षमा मनाइने गौरालाई ‘उज्याली’ र कृष्ण पक्षमा मनाइने गौरालाई ‘अँध्यारी’ भनिन्छ ।
पहिलो पटक व्रत बस्नेले उज्याली गौराबाट सुरु गर्नुपर्ने मान्यता रहेको छ । मानसखण्ड, निर्णय सिन्धु र हेमाद्रीजस्ता ग्रन्थमा सूर्य सिंह राशिमा रहँदा (भदौमा) गौरा मनाउनुपर्ने उल्लेख छ, तर कन्या राशिमा सूर्य प्रवेश गरेपछि (असोजमा)यो पर्व मनाउनुहुँदैन । गौरा पर्व सुदूरपश्चिम र मध्यपश्चिममा ऐतिहासिक र मौलिक पर्वका रूपमा लिइन्छ ।
पौराणिक कथनअनुसार, सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन भाद्र महिनामा कठोर तपस्या गरेकी थिइन् । उनको मनोकामना पूरा भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । पूजाका लागि कुश, काँस, सामा, तितेपाती र अपामार्गजस्ता पाँच वनस्पति (कतै तिलको बिरुवा पनि) प्रयोग गरी देवीको आकार बनाइन्छ । भाद्र कृष्ण अष्टमीमा गाउँको स्वच्छ घरमा गौरालाई भित्र्याई निराहार व्रत बसी पूजा गर्ने परम्परा छ । गौरालाई गाउँका नायकले भित्र्याउनुपर्ने र कसैले नहेर्ने मान्यता छ । काठमाडौंमा यो पर्व एक दिन मनाइए पनि सुदूरपश्चिम र मध्यपश्चिममा तीन दिनसम्म उत्सव हुन्छ । यो पर्व सुदूरपश्चिमको सात नम्बर प्रदेशमा दसैँ-तिहारभन्दा बढी धुमधामसँग मनाइन्छ ।
व्रत बस्ने महिलाहरूले सप्तमीसम्म निराहार रही गौराको पूजा गर्छन्, जसले पतिको दीर्घायु र सुखी जीवन प्राप्त हुने जनविश्वास छ । वैदिक विधिअनुसार गौरा माताको पूजा गर्दा सन्तान, सुख र समृद्धि प्राप्त हुने मान्यता छ ।
गौरा पर्व पञ्चमीदेखि अष्टमीसम्म चार दिन मनाइन्छ । पञ्चमीमा चना, गहत, गुराँस, सानो र ठूलो केराउजस्ता दलहन भिजाएर बिरुडा तयार गरिन्छ, जसलाई पञ्चाखिरी शिवमन्त्रको प्रतीक मानिन्छ । षष्ठीमा यी बिरुडालाई नदी, पोखरी वा धारामा धोइन्छ । सप्तमीमा महिलाहरू खेतमा गएर धान, बलु, कुस, दुवो, साउँ, पाती, कुर्जो, तिल र अपामार्गजस्ता नौ वनस्पति गौराको रूपमा भित्र्याउँछन् ।
आयुर्वेदको दृष्टिकोणले यी वनस्पति नवदुर्गाको प्रतीक मानिन्छन् । अष्टमीमा गौरालाई सेलाएर देउडा खेलिन्छ, जुन रमाइलोका लागि केही दिन लम्बिन पनि सक्छ ।
यो पर्व विशेष गरी महिलाहरूले मनाउँछन्, तर पछिल्लो समय पुरुषहरूको पनि उत्तिकै सहभागिता छ । गौरा र महादेवको पूजा गर्दा मनोकामना पूरा हुने र जीवनमा आनन्द प्राप्त हुने विश्वास छ । गौरा पर्वले बिछोडिएकाहरूलाई जोड्ने, भाइचारा बढाउने र पति-पत्नीको सम्बन्ध प्रगाढ बनाउने मान्यता छ । बसाइँ सरेर तराई झरेका सुदूरपश्चिमेलीले पनि यो पर्व उत्तिकै उत्साहसहित मनाउँछन्, जसले सांस्कृतिक निरन्तरता र सामाजिक एकताको सन्देश बोकेको छ ।














