Logo
Logo

नेपाली महासंघ हङकङलाई सरकारी भवन निःशुल्क उपलब्ध


- दृष्टि न्युज/संवाददाता


धरान, १८ भदौ । हङकङका नेपालीहरुको हकहितमा लडिरहेको सस्था हङकङ नेपाली महासंघलाई हङकङको सरकारी प्रशासनले मङ्गककस्थित एक सरकारी भवन निःशुल्क उपलब्ध गराएको छ । यसरी स्थानीय सरकारबाट भवन पाउने महासंघ दोस्रो संस्था हो । यसअघि हङकङ एकीकृत नेपाली समाज (हिल्स) ले पनि यस्तै सुविधा पाएको थियो ।


सन् १९९८ मा स्थापना भएको महासंघ यसअघि आफ्नै आर्थिक स्रोत जुटाएर भाडाको घरमा कोठा लिएर सञ्चालन हुँदै आएको थियो । तर यसपटक महासंघका अध्यक्ष टक रानाको विशेष पहलमा हङकङ सरकारले मङ्गककस्थित ५८० नाथन रोडमा रहेको नाथन सेन्टरको १५आँै तलामा ६०० स्क्वायर फिटको सरकारी भवन औपचारिकताका लागि १ डलर मात्र शुल्कमा लिएर स्थानीय प्रशासनले एक समारोहबीच हस्तान्तरण गरेको छ । नयाँ भवनमा आयोजित हस्तान्तर कार्यक्रममा धन्यवादज्ञापन गर्नु हुँदै महासंघका अध्यक्ष रानाले सो भवनलाई हङकङस्थित महासंघमा आवद्ध सबै सामाजिक संघसंस्थाको सामूहिक प्रयोजनका लागि दिइने बताए । स्थानीय हङकङ सरकारका प्रतिनिधि, महासंघका नयाँ पुराना अध्यक्ष तथा कार्यसमितिका सदस्यहरु उपस्थित रहेको सो कार्यक्रममा महासंघका पूर्वअध्यक्ष रीता गुरुङले हाल प्राप्त भवन अझै सानो हुने गुनासो राखेपछि हङकङ सरकारका प्रतिनिधिहरुले चाँडै नै यो भन्दा ठूलो भवन पनि उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए ।

हङकङमा एकभन्दा बढी नेपाली सामाजिक संघसंस्थाहरु कार्यरत छन । ती सबैको साझा संस्थाको रुपमा महासंघले भूमिका निभाइरहेको छ । महासंघका पूर्वअध्यक्ष प्रदीप थापाको कार्यकालदेखि नै हङकङ सरकारसँग पनि थुप्रै योजनामा सहकार्य हँुदै आएकाले यस वर्ष महासंघलाई स्थानीय सरकारले सामाजिक उत्थानका लागि दश लाख हङकङ डलर सहयोग उपलव्ध गराएको छ । जुन परियोजनाको संयोजन पूर्वअध्यक्ष तथा सञ्चारकर्मी रीता गुरुङ रहेको कुरा अध्यक्ष राना बताउनुहुन्छ ।

अध्यक्ष रानाले यसै वर्ष संसारभरि फैलिएको कोराना भाइरसको संक्रमणले गर्दा नेपालबाट हङकङ फर्कन नपाएका सयौँ नेपालीहरुलाई हवाई जहाजबाट ल्याउने व्यवस्था मिलाएका थिए । यसैगरी हङकङमा पनि नेपाली जनसमुदायमाझ मास्क, स्यानिटाइजर र अन्य राहत वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्