काठमाडौं । शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध सामाजिक सञ्जालमा दिएको बयानबाट करिब १२ घण्टामै पछाडि हटेका छन् । उनले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘म सधैँ प्रधानमन्त्री मोदीको साथी रहनेछु र भारतसँग सम्बन्ध पुनर्स्थापित गर्न तयार छु ।’

यसअघि उनले सामाजिक सञ्जालमा लेखेका थिए,’हामीले भारत र रुसलाई चीनसँग हारिसकेका छौँ, तर उनीहरूको भविष्य राम्रो होस् ।’ ट्रम्पको यो बयानको जवाफमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समर्थन जनाए । उनले एक्समा लेखे, ‘म ट्रम्पको भावना र हाम्रो सम्बन्धप्रतिको विचारको हृदयदेखि कदर गर्छु । म उनलाई पूर्ण समर्थन गर्छु ।’
उनले भारत–अमेरिका सम्बन्धलाई सकारात्मक र दूरदर्शी रणनीतिक साझेदारीको रूपमा चित्रण गरे । पत्रकार सम्मेलनमा ट्रम्पले भारतसहित अन्य देशसँगको व्यापार वार्तालाई सकारात्मक बताए । यद्यपि, उनले युरोपेली सङ्घले गुगललाई ३.५ अर्ब डलर जरिवाना लगाएकोमा असन्तुष्टि व्यक्त गरे । साथै, भारतले रूसी तेल खरिद गरेकोमा निराशा जनाउँदै उनले भने, ‘हामीले भारतमा ५० प्रतिशत भन्सार लगाएका छौँ ।’ यसले दुई देशबीचको व्यापारिक तनावलाई पनि उजागर गरेको छ ।











