Logo
Logo

निजामती विधेयक छिट्टै पारित हुन्छ : उपप्रधानमन्त्री सिंह


189
Shares

काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय निजामती सेवासम्बन्धी विधेयकलाई सङ्घीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निजामती सेवा दिवस–२०८२ का अवसरमा निजामती सेवा दिवस मूल समारोह समितिले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निजामती विधेयक छिट्टै पारित हुने बताएका हुन् ।

उनले भने, ‘तहगत प्रशासनिक अन्तर सम्बन्धलाई बलियो बनाउँदै प्रशासनिक सङ्घीयतालाई सुदृढ तुल्याउन कोशेढुङ्गाका रुपमा अपेक्षा गरिएको सङ्घीय निजामती सेवासम्बन्धी विधेयकलाई सङ्घीय संसद्बाट यथाशक्य छिटो पारित गराई कार्यान्वयन गराउनेतर्फ सरकार प्रतिबद्ध रहेको छ ।’

उनले आमकर्मचारीको माग र भावनालाई समावेश गरी राजनीतिक दलहरुको सहमतिबाट संसद्ले निजामती विधेयक पारित गर्ने विश्वास व्यक्त गरे । एकताबद्ध हुँदै विकास, समृद्धि र सुशासनको मार्गमा अग्रसर हुन र व्यावसायिक तथा सिर्जनशील प्रशासनमा लाग्न राष्ट्रसेवक निजामती कर्मचारी प्रतिबद्ध हुनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘शासन व्यवस्थाको मेरुदण्डका रुपमा रहेको निजामती सेवा राष्ट्र निर्माणको एक अभिन्न अङ्ग हो, विकास, सुशासन र सेवा प्रवाहलाई प्रधावकारी रुपमा कार्यान्वयन गर्ने दायित्व पनि निजामती सेवाकै काँधमा रहेको छ ।’

मन्त्री सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै लोकतन्त्रका लाभहरुको वितरण गर्ने तथा राज्यप्रति नागरिकको भरोसा र विश्वास अभिवृद्धि गर्न निजामती सेवाको भूमिका अति महत्वपूर्ण हुने पनि बताए ।

उनले नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेका सन्दर्भमा निजामती सेवाले त्यसअनुरुप आफ्ना लागि समायोजन, अनुकूलन र परिस्कृत गर्नुपर्ने आवश्यकता औँल्याए । ‘सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न निजामती कर्मचारी अझ प्रतिबद्ध हुनुपर्छ,’ उनले भने ।

‘समृद्ध नेपालः सुखी नेपाली’ को दीर्घकालीन लक्ष्य हासिल गर्न निजामती प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका बहन गर्नुपर्ने उपप्रधानमन्त्री सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्