काठमाडौं । नेपालको राजनीतिक र आर्थिक क्षेत्रमा व्याप्त भ्रष्टाचार र वंशवादको विरुद्धमा युवा पुस्ताको आक्रोश चर्किँदै गएको छ । इन्डोनेसियाबाट सुरु भएको ‘नेपो बेबी’ अभियानले नेपालका सामाजिक सञ्जाललाई तताएको छ, जसमाराजनीतिक तथा विशिष्ट व्यक्तिहरूका सन्तानहरूको आलिसान जीवनशैलीलाई एक्सपोज गर्दै जनताको असन्तुष्टि व्यक्त गरिएको छ ।

फेसबुक, इन्स्टाग्राम, एक्स र टिकटकजस्ता सामाजिक सञ्जालमा ह्यासट्याग नो करप्सन, ह्यासट्याग एस्पोज नेपो बेबी, ह्यासट्याग करपसन फेमलीजस्ताह्यासट्यागहरू ट्रेन्डमा छन् । अब यो आन्दोलन सामाजिक सञ्जालबाट अगाडि बढ्दै सडकमा उत्रने चरणमा पुगेको छ । जेन जी पुस्ताका युवाहरूले सोमबार काठमाडौंको माइतीघर मण्डला र नयाँ बानेश्वरस्थित संसद भवन अगाडि भ्रष्टाचारविरुद्ध प्रदर्शनको घोषणा गरेका छन् ।
अभियानको सुरुवात
‘नेपो बेबी’ अभियान इन्डोनेसियामा राजनीतिक नेताहरूका सन्तानहरूको विलासी जीवनशैलीविरुद्ध सुरु भएको थियो, जसले छोटो समयमै दक्षिणपूर्वी एसियाली देशहरूमा फैलियो । नेपालमा यो अभियान टिकटक, इन्स्टाग्राम र एक्सजस्ता प्लेटफर्महरूबाट प्रवेश गरेको छ । युवाहरूले नेताकाछोराछोरीहरूको विदेशी शिक्षा, महँगा गाडी, ब्रान्डेड कपडा, भव्य पार्टी र विदेश भ्रमणका तस्वीरहरू सङ्कलन गरी सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रश्नउठाएका छन् ।
अहिले टिकटकमा ‘करप्ट पोल्टिसियन चाइन्ड’ सर्च गर्दा हजारौँ भिडियो फेला पर्छन्, जसमा जनताको दैनिक संघर्षसँग तुलना गर्दै भ्रष्टाचारको चित्रण गरिएको छ । एक्समा पनि यो ट्रेन्ड भाइरल छ, जसमा युवाहरूले इनफइज इनफ, नो करप्सन ह्यासट्याग प्रयोग गर्दै आक्रोश व्यक्त गरेकाछन् । यो ट्रेन्डले नेपालको वर्तमान राजनीतिक वंशवादलाई निशानाबनाएको छ । धेरैजसो नेताहरूका सन्तानहरू सरकारी, राजनीतिक वा आर्थिक क्षेत्रमा विशेष पहुँचमा देखिन्छन्, जसले आम युवाहरूमा असमानताको गहिरो अनुभूति जन्माएको छ ।
प्रदर्शनको तयारी
यो आक्रोश अब सामाजिक सञ्जालमा सीमित नरही सडकमा उत्रिने क्रममा छ । जेन जी पुस्ताका युवा समूहहरूले सोमबार माइतीघर मण्डला र संसद भवन अगाडि प्रदर्शनको आह्वान गरेका छन् । उनीहरूले देशभरका प्रमुख शहरहरूमा पनिप्रदर्शनको अपिल गरेका छन् । २० देखि ३० वर्षका युवाहरूमध्ये खासगरी शहरी क्षेत्रमा पढेलेखेका युवाहरू यस आन्दोलनको अगुवाइमा छन् ।
भ्रष्टाचार, राजनीतिक विशेषाधिकार र बेरोजगारीले थिचिएको यो पुस्ता सडकमा निस्कनबाध्य भएको हो । यो प्रदर्शनमा भ्रष्टाचार मात्र नभई हालै सरकारले लागू गरेको सामाजिक सञ्जाल प्रतिबन्ध पनि मुख्य मुद्दा बन्नेछ । सरकारले फेसबुक, इन्स्टाग्राम, युट्युब र एक्स जस्ता २६ प्लेटफर्महरूलाई सूचिकरणनगरेको भन्दै बन्द गरेको निर्णयलाई युवाहरूले अभिव्यक्तिस्वतन्त्रतामाथिको हस्तक्षेप ठानेका छन् ।
जेन जी पुस्ताको विद्रोहलाई लिएर सत्तारुढ दलकै नेताहरूले समेत चिन्ता व्यक्त गर्न थालेका छन् । एमाले नेतागोकुल बाँस्कोटाले सामाजिक सञ्जाल एक्समा लेख्छन्– ‘जेन जी र अल्फापुस्ता आईसक्यो तर यहाँ बेबी ब्रुमर पुस्ताले थर्काउँदैछ । हाहुमा हैनक्षितिज पारीसम्म नियालेर ऊ आयो भने कसैले रोक्न सक्दैन । मौसम त दुई महिनामा हल्का रङग फेर्छ, राजनीतिमा छेपारे र चेपारे प्रवृतिसँग किनगुनासो ? हरेक दशकले त्यो चटक भोग्दै त आएको छ ।’
बालेनको साथ
सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि समर्थन जनाएका छन् । उमेर हदबन्दीका कारण आफू उक्त प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उनले सञ्जालमार्फत जानकारी गराएका छन् ।
बालेनले भनेका छन्– ‘भोलीको ¥याली स्पष्ट स्वस्फूर्तरुपमा जेन–जी को हो , उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुडो देखिन्छु । मलाइ पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ, भोलि यो स्वतफुर्त ¥यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला । म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ ।’
नेपालमा भ्रष्टाचार लामो समयदेखि मुख्य समस्या बनेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको अनुसार, नेपाल भ्रष्टाचार सूचकांकमा १०७औँ स्थानमा छ । राजनीतिक परिवारहरूको वंशवादले युवाहरूमा निराशा बढाएको छ । जसले गर्दा जेन जी पुस्तालाई विद्रोह गर्न बाध्य बनाएको छ ।
दक्षिण एसियालीदेशहरूमा यस्ता आन्दोलनहरूले राजनीतिक परिवर्तन ल्याएका उदाहरण छन् ।नेपालमा पनि यो युवा विद्रोहले सत्तासीन वर्गलाई चुनौती दिएको छ । सरकारले यो आन्दोलनलाई हल्का रुपमा लिनु ठूलो गल्ती हुन सक्छ, किनकिजेन जी पुस्ता डिजिटल शक्तिका कारण तीव्र र संगठित छ ।
सेप्टेम्बर ८ को आन्दोलनले नेपाललाई एउटा ठूलो सन्देश दिनखोज्दै छ, नयाँ पुस्ता अब मौन बस्दैन । सरकारले एकातिर जेन जी कार्यक्रमल्याएर उद्यमशीलता र शिक्षा सुधारको घोषणासम्म गरेको छ, तर अर्कोतिर कार्यान्वयन अझै अस्पष्ट छ ।
यदि सरकारले उनीहरूको माग सुनेर पारदर्शी नीति र व्यवहारिक सुधारमा जोड दियो भने नेपालले यही पुस्ताबाट नयाँक्रान्तिको आधार पाउनेछ । तर बेवास्ता गरियो भने अर्को बंगलादेश हुने खतरा छ । यदि यो आन्दोलन सफल भयो भने जेन जी पुस्ताको ’डिजिटल क्रान्ति’ को रूपमा इतिहासमा लेखिनेछ । तर, स्वघोषित यो अभियानको अगुवाकसले गरिरहेको छ भन्ने अहिलेसम्म खुलेको छैन । त्यसैले आन्दोलनमाघुसपैठ हुने र आन्दोलन भड्कने सम्भावना पनि उत्तिकै छ ।
यसअघि बालकुमारी घटनामा पनि केही नेतृत्व थिएन र केही उच्छृंखलहरूले गरेर अवस्था के भएको थियो र नतिजा के आयो भन्ने देखिसकेका छौँ । त्यसैले सेप्टेम्बर ८ को आन्दोलनमा पनि जेन जी पुस्ताले जोशमा होस् पु¥याउन जरुरी छ ।














