काठमाडौं । नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन सम्पन्न भएको छ। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनसहित विभिन्न आयोगका प्रतिवेदनहरू पारित गरेको छ।

महाधिवेशनभर सबैभन्दा धेरै चर्चा पाएको विषय भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरणको हो। यद्यपि, प्रस्तुत प्रतिवेदनले त्यस विषयमा कुनै निर्णय नगरेको स्पष्ट भएको छ। नेताहरूका अनुसार केन्द्रीय समितिको सदस्यता नविकरण नगर्ने अघिल्लो निर्णय सदर भएको छ, तर प्रतिवेदनमा यसबारे स्पष्ट उल्लेख छैन।
यसपटक विधान संशोधनमार्फत एमालेको नेतृत्वमा रहँदै आएको ७० वर्षे उमेर सीमा हटाइएको छ। त्यस्तै, अध्यक्ष पदमा दुई कार्यकाल मात्र सीमित हुने प्रावधान पनि हटाइएको छ। यसको अर्थ, केपी शर्मा ओली फेरि अध्यक्ष बन्न सक्ने संवैधानिक बाटो खुलेको छ।
महाधिवेशनमा शुक्रबार प्रतिवेदनहरू प्रस्तुत गरिएपछि शनिबार १० वटा समूह बनाएर तीमाथि छलफल गरिएको थियो। आइतबार ती समूहगत छलफलबाट आएका सुझावहरू प्रस्तुत गरिए।
बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलका अनुसार, ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने विधान संशोधनलाई अधिकांशले समर्थन गरेका थिए । यद्यपि, केहीले त्यसलाई नहटाउन सुझाव पनि दिएका थिए।
कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनमा उमेर र कार्यकालको सीमा हटाउने निर्णयको स्वागत गरिएको बताए। साथै, राष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक पदमा पुगेका व्यक्तिहरूले सक्रिय राजनीतिमा फर्किन नपाउने व्यवस्था विधानमै स्पष्ट गर्न सुझाव आएको उनले बताए।
छलफलमा उठेका सबै विषयमा पार्टी नेतृत्वले जवाफ दिएपछि महाधिवेशन औपचारिक रूपमा सम्पन्न भएको हो।














