
काठमाडौं । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका ‘जेनजीहरु’ले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् ।
माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेका प्रदर्शनकारीहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि पोलमा राखिएको तल झारेर प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् ।
भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमा सरकारले प्रतिबन्ध लगाएपछि त्यसको विरोधमा स्वःस्फूर्त सडकमा ओर्लिएका युवाहरुको जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ ।
नयाँबानेश्वरमा प्रहरीले सडकमा ब्यारिकेड राखेर प्रदर्शनकारीलाई रोकेको छ । प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् ।
राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरुले राष्ट्रभक्ति गाएका छन् । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिन्छन् ।
‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।














