काठमाडौं । सिंहदरबारमा कार्यरत कर्मचारी सबै सिंहदरबारमै थुनिएका छन् । जेनजीहरुको आन्दोलनका कारण उनीहरू सिंहदरबारमै थुनिएका हुन् ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजी युवाहरूको आन्दोलन हिंसात्मक बन्दै सो क्षेत्रमा कर्फ्यु लगाइएको छ । कर्फ्यु लगाउँदा पनि तनाव शान्त हुन नसकेपछि सो क्षेत्रलाई नेपाली सेनाले नियन्त्रणमा लिएको हो ।
नेपाली सेनाले सिंहदरबारमा कार्यरत कर्मचारीहरूलाई पनि सबै तीरका गेट बन्द गरेर भित्रै थुनेको छ ।
सोमबार भएको प्रदर्शनका क्रममा थप दुई जनाको ट्रमा सेन्टरमा मृत्यु भएसँगै कुल मृतक सङ्ख्या १७ पुगेको छ । क्रममा प्रहरीको गोली प्रहार, लाठीचार्ज र भगदौडका कारण धेरै घाइते भएका थिए, जसको उपचार क्रममा लगातार मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ। हाल राजधानीका विभिन्न अस्पतालमा अझै पनि गम्भीर घाइतेहरूको उपचार जारी छ।














