काठमाडौं । स्वदेशी केराको बजार नहुँदा किसानहरू चिन्तित छन् भने अर्कोतर्फ भारतबाट वार्षिक साढे दुई अर्ब रुपैयाँ बराबरको केरा आयात भइरहेको छ।

नेपालमा २५ हजार ९७२ हेक्टरमा व्यावसायिक केरा खेती हुँदै आएको र वार्षिक उत्पादन ३ लाख ८३ हजार मेट्रिक टन रहेको कृषि मन्त्रालयको तथ्यांक छ। तर, २०८०/८१ मा मात्रै भारतबाट ६३ हजार मेट्रिक टनभन्दा बढी केरा आयात गरिएको छ।
नेपाल केरा उत्पादक महासंघले आयातले स्वदेशी उत्पादनको बजार कब्जा गर्दै आएको भन्दै कडा नियन्त्रणको माग गरेको छ। महासंघका अध्यक्ष विष्णुहरि पन्तले डम्पिङ रोक्न भन्सार र कर दर वृद्धि गर्नुपर्ने, विषादी परीक्षण अनिवार्य गर्नुपर्ने, अवैध आयात रोक्न सीमा नाकामा कडाइ गर्नुपर्ने बताएका छन्।
कृषि मन्त्रालय, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयका अधिकारीहरूले किसानको समस्या समाधान गर्न समन्वय आवश्यक रहेको बताएका छन्। कृषि मन्त्रालयले प्रोत्साहन र बजार सुनिश्चित गर्ने नीति कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाएको छ।
संसदको कृषि समितिले पनि स्वदेशी केरा संरक्षण र आयात प्रतिस्थापनमा सरकारलाई ठोस कदम चाल्न निर्देशन दिएको छ।














