मुस्ताङ । कोरला नाका पूर्ण रूपमा सञ्चालनमा आएसँगै चिनियाँ स्याउ आयात गर्न नपाइने भएको छ। उपल्लो मुस्ताङको लोमान्थाङमा भएको सरोकारवाला निकायहरूको संयुक्त बैठकले यस्तो मौखिक सहमति गरेको हो।

स्याउ आयात हुँदा स्थानीय किसानहरू प्रभावित हुने भन्दै यस्तो प्रतिबन्धको प्रारम्भिक निर्णय लिइएको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले बताए। अब छिट्टै लिखित निर्णय हुने उनले जानकारी दिए।
यो नाका अघिसम्म उपल्लो मुस्ताङका लागि सीमित रूपमा खुला थियो। अब भने भन्सार विभागको नियमअनुसार सामान आयात–निर्यात गर्न सकिने भन्सार कार्यालय प्रमुख रमेश खड्काले जानकारी दिए।
भन्सार कार्यालयका अनुसार पूर्वाधार तयारी अवस्थामा रहेकाले अब व्यापारिक गतिविधि सहज रूपमा सञ्चालन हुने अपेक्षा गरिएको छ।














