काठमाडौं । ललितपुर जिल्ला प्रशासन कार्यालयले हाल उपत्यकामा चर्किएको जेन–जी आन्दोलन र त्यससँग सम्बन्धित प्रदर्शनहरूका कारण उत्पन्न हुनसक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्लाका केही क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) अनुसार प्रमुख जिल्ला अधिकारीको आदेशमा भदौ २३ गते साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्म सभा, जुलुस, प्रदर्शन, धर्ना, भेला लगायतका कुनै पनि गतिविधि निषेध गरिएको छ।
प्रशासनले निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ।
निषेधित क्षेत्रहरू:
- पुल्चोकस्थित युएन हाउस र न्यायाधीश निवास आसपासको २०० मिटर क्षेत्र
- पूर्व: इनारमोड जाने बाटो
- पश्चिम: निजामती राष्ट्रिय किताबखाना
- उत्तर: आन्तरिक राजस्व कार्यालय
- दक्षिण: मानव अधिकार आयोग
- भैंसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र
- पूर्व: भैंसेपाटी–बुंगमती सडक
- पश्चिम: सिजी हाउजिङ
- उत्तर: भैंसेपाटी आवास गेट
- दक्षिण: इटनी जाने बाटो
- सानेपास्थित नेपाली काँग्रेसको केन्द्रीय कार्यालय क्षेत्र
- पूर्व: सानेपा चोक–इन्द्रायणी मन्दिर सडक
- पश्चिम: बल्खु पुल–मनमोहन पार्क (बागमती करिडोर)
- उत्तर: चक्रपथ सर्भिस लेन
- दक्षिण: इन्द्रायणी मन्दिर–बागमती करिडोर सडक
- च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय क्षेत्र
- पूर्व: मनोहरा खोला करिडोरको झोलुंगे पुल
- पश्चिम: च्यासल रंगशाला
- उत्तर: मनोहरा खोला
- दक्षिण: मल पोखरी जाने बाटो
प्रशासनले सार्वजनिक शान्ति, सुरक्षा र अमनचयन कायम राख्न यो कदम चालेको जनाउँदै शान्तिपूर्ण प्रदर्शनको नाममा हुने सम्भावित उपद्रव रोक्न प्रतिबन्ध आवश्यक भएको स्पष्ट पारेको छ।














