काठमाडौं । ‘जेनजी’ आन्दोलनका कारण काठमाडौं उपत्यकाको सडक यातायात प्रभावित भइरहेका बेला हवाई उडान भने पूर्ण रूपमा नियमित रहेको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिक तथा अन्तरराष्ट्रिय दुवै उडानहरूमा हालसम्म कुनै अवरोध देखिएको छैन।
आन्तरिक उडानतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनी सेवा दिइरहेका छन् भने अन्तरराष्ट्रियतर्फ ३ नेपालीसहित ३० विदेशी एयरलाइन्सले नियमित उडान भर्दै आएका छन्।
काठमाडौं बाहिरका विमानस्थलहरूमा पनि हवाई उडान सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ।
यता, प्रदर्शनका कारण काठमाडौंका विभिन्न क्षेत्र कोटेश्वर, नयाँ बानेश्वर, माइतीघर, थापाथली, रत्नपार्क, नयाँ सडक, रामशाहपथ, पुतलीसडक लगायतमा सडक आवागमनमा व्यापक अवरोध भएको छ।














