पोखरा । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु गण्डकी प्रदेशका सहसंयोजक विश्वदर्शन पराजुलीले पार्टी परित्याग गरेका छन् । सरकारले जेनजी पुस्ताको आन्दोलनलाई चरम दमन गरेको र युवासँगै समग्र राज्य र जनतामाथि घात गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत पार्टी छाड्ने घोषणा गरेका हुन् ।

पराजुलीले ११ वर्षदेखि एमालेमा सक्रिय रहेको र कुनै लाभ नलिएको बताए । ‘मैले पार्टीलाई जति सक्थेँ, दिएँ । अब देशलाई योगदान दिने विचारले आजदेखि नेकपा एमालेको सदस्यता निष्क्रिय पार्दै अनेरास्ववियुको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्छु,’ उनले फेसबुकमा लेखे ।
उनले सरकारको गलत कार्यमा सहभागी हुन नसक्ने प्रष्ट पारे । ‘जब मेरो पार्टी र यसको नेतृत्वको सरकारले युवा, राज्य र जनतामाथि घात गर्छ, म त्यसको मतियार बन्न सकिनँ,’ उनले भने ।














