काठमाडौं । हिमालय एयरलाइन्सले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत् हिमालय एयरलाइन्ससम्बन्धी प्रसारित भइरहेको समाचार पूर्णतः असत्य तथा भ्रामक रहेको जनाएको छ ।

एयरलाइनसले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली हिमालय एयरलाइन्सबाट दुवई भाग्न लागेको समाचारको खण्डन गरेको हो । हिमालय एयरलाइन्सले भनेको छ, ‘यसै सन्दर्भमा, हाम्रो दुबई उडान नियमित तालिकाअनुसार सञ्चालन हुने उडान हो भन्ने स्पष्ट पार्दछौ ं। प्रचारमा आएका हल्ला र अफवाहहरूमा कुनै सत्यता छैन । यसप्रकारका अपुष्ट जानकारीमा विश्वास नगर्नुहुन तथा प्रचार–प्रसार नगर्नुहुन सबैलाई विनम्र अनुरोध गर्दछौं ।’
राज्यलाई परिआएको खण्डमा जस्तोसुकै सहयोग गर्नुपर्ने राष्ट्रिय दायित्वबाट कम्पनी कहिलै पनि बिमुख नहुने भन्दै हिमालय एयरलाइन्सले विज्ञप्तिमा भनेको छ, ‘विगतमा पनि हिमालय एयरलाइन्सले कोभिड १९ को समयमा उद्धार उडानमा आफ्नो दायित्व निर्बाह गर्दै आएको छ । केही अनलाईन पोर्टलले स्रोतको हौवा दिएर प्रधानमन्त्री स्वास्थ्य उपचारको बहानामा हिमालय एयरलाइन्सको विमानमा दुबै उड्ने तयारी भन्ने समाचारप्रति हिमालय एयरलाइन्सको गम्भीर ध्यानाकर्षण भएको छ ।’
साथै, यस्ता भ्रामक र कपोकल्पित समाचारको भ्रममा नपर्न पनि एयरलाईन्स अनुरोध गरेको छ ।














