महोत्तरी। राजनीतिक अस्थिरता र कर्फ्यूका बीच पनि मिथिलाञ्चलका महिलाहरू सन्तानको कल्याणका लागि मनाइने जितिया पर्वको तयारीमा जुटेका छन्। पितृपक्षको अष्टमी तिथिमा पर्ने यो पर्व यसपटक आइतबार २९ भदौ परेको छ।

मैथिल परम्पराअनुसार सन्तानवती महिलाले ३१ घण्टा लामो कठोर व्रत बस्ने छन्।
भोलि शनिबार राति ओगटन’ दर खाएर व्रत सुरु हुनेछ, जसमा दही–चिउरा खाने चलन छ। व्रत आइतबार बिहान ८:४४ बजे सुरु भई सोमबार बिहान ७ बजे समापन हुनेछ। मिथिला संस्कार अनुसार, महिलाहरूले दिवंगत महिला आफन्तहरूलाई तर्पण दिँदै सन्तानको दीर्घायु, पराक्रम र सौर्य वृद्धि कामना गर्छन्। राजा जितवाहनको पौराणिक कथामा आधारित यो पर्व भविष्य पुराणमा वर्णित छ।
कर्फ्यूका कारण बजार आवत–जावत असहज भए पनि महिलाहरू पर्वको तयारीमा जुटिरहेको जलेश्वरकी शिक्षिका नायडु तिवारीले बताइन्। मिथिलामा यो पर्व सामाजिक प्रतिष्ठासँग समेत जोडिएको मानिन्छ।
मधेस प्रदेश सरकारले महिलाका लागि तीजजस्तै जितिया पर्वमा पनि सार्वजनिक बिदा दिँदै आएको छ।














