विराटनगर । धरानस्थित भाटभटेनी सुपरमार्केटमा मंगलबार राति भएको आगजनीपछि शुक्रबार थप अनुसन्धानका क्रममा चार जनाको शव जलेको अवस्थामा फेला परेको छ।

पहिले तीन शव भेटिएको सूचना सार्वजनिक भए पनि पछिल्लो अपडेटअनुसार दोस्रो तल्लाबाट एक र तेस्रो तल्लाबाट तीन गरी चार शव फेला परेका हुन्।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले मृतकको पहिचान खुलेको छैन भने उनीहरू लुटपाटको क्रममा फसेको आशंका गरिएको जानकारी दिएका छन्। शवहरू पूर्ण रूपमा जलेका कारण लिंग र उमेर समेत यकिन हुन नसकेको प्रहरीले जनाएको छ।
मंगलबारको अराजक प्रदर्शनमा भाटभटेनीमा तोडफोड र लुटपाटपछि भीषण आगलागी भएको थियो, जुन लामो समयसम्म निभाउन सकिएको थिएन। हाल शवको पहिचानका लागि अनुसन्धान जारी छ।














