Logo
Logo

नवनियुक्त प्रधानमन्त्रीलाई प्याब्सनले दियो बधाई, शिक्षा क्षेत्रमा सुधारको अपेक्षा


693
Shares

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) ले नेपालको नवनियुक्त पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीलाई बधाईसहित शुभकामना व्यक्त गरेको छ ।

संगठनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार, समावेशी पहुँच र दीगो विकास सुनिश्चित हुने विश्वास प्रकट गरेको हो ।

नेसनल प्याब्सनकी अध्यक्ष गीता क्षेत्री राणा र महासचिव प्रतापबहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा हालै मुलुकभर ‘जेन जेड’ युवाहरूले सुधारका माग राख्दै सञ्चालन गरेका आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

शिक्षा जीवनको आधारशिला भएको उल्लेख गर्दै प्याब्सनले प्रधानमन्त्री कार्कीको कार्यकालमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, पेशागत सम्मान कायम गर्ने, निजी तथा आवासीय विद्यालयहरूको लगानी र विकासलाई प्रोत्साहन गर्ने, शैक्षिक पूर्वाधार सुधारमार्फत दीगो विकास गर्ने तथा शिक्षा क्षेत्रमा रोजगारी र स्वरोजगारीका अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।

संगठनले संविधानको रक्षा गर्दै शिक्षा, शान्ति, प्रगति र समृद्धिलाई सुनिश्चित गर्ने दिशामा अघि बढ्नुपर्नेमा जोड दिँदै मुलुकलाई शैक्षिक गन्तव्यका रूपमा प्रवद्र्धन गर्न तथा शैक्षिक पर्यटनमार्फत विश्वभर सकारात्मक सन्देश प्रवाह गर्न सकिने विश्वास पनि प्रकट गरेको छ ।

युवाहरूको चाहनाअनुरूप शिक्षामा समान पहुँच, स्वतन्त्र पेशा–व्यवसायको वातावरण र लगानी प्रवद्र्धनमा प्रधानमन्त्रीको कार्यकाल महत्त्वपूर्ण बन्नेमा आफूहरू विश्वस्त रहेको नेसनल प्याब्सनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्