काठमाडौं । यातायात क्षेत्रसँग सम्बन्धित सरोकारवाला समेटेर उच्चस्तरीय यातायात व्यवस्थापन समिति गठन गरिएको छ ।

आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव सहित सरोकारवाला र याताायात व्यवसायी बीचको बैठकले समिति गठन गरेको हो ।
दसैँका लागि अग्रिम टिकट बुकिङ खोल्ने विषयमा सोमबार पुनः यातायात व्यवस्था विभागसहितका सरोकारवालासँग छलफल हुनेछ ।
पहिलो प्राथमिकता यो एक साता काठमाडौंमा रोकिएका यात्रुलाई काठमाडौं बाहिर सुरक्षित रूपमा पठाउने कामलाई प्राथमिकतामा रहेको र त्यसपछि अग्रिम टिकट बुकिङ खुलाउने विषय तय हुने भएको छ ।
वर्तमान परिस्थिति एवं चाडपर्वको समयमा यात्रुको यात्रा सुरक्षित र सहज बनाउन एवं प्राप्त गुनासो तत्काल सम्बोधन गरी यातायात व्यवस्थापन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिमा प्रहरी र व्यवसायीसमेत रहने गरी तोकिएको छ । आजको बैठकले ट्राफिक प्रहरीलाई आवश्यक पर्ने सामग्री भौतिक मन्त्रालय र सडक सुरक्षा परिषद्बाट उपलब्ध गराउने निर्णय भएको छ ।














