Logo
Logo

च्यासल पुगेर शङ्कर पोखरेलले भने-समयमै चुनाव होस्, सहयोग गर्छौँ


315
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भदौ २४ गतेको आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी कार्यालयको अनुगमन गरेका छन् । सोमबार ललितपुरको च्यासलस्थित कार्यालय पुगेर उनले क्षतिको अवलोकन गरेका हुन् । 

The current image has no alternative text. The file name is: sanker-pokharel.gif

अनुगमनमा उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताहरू सहभागी थिए । पोखरेलले आन्दोलनका क्रममा पार्टी कार्यालय, नेता–कार्यकर्ताका निजी भवन र शताब्दी पुराना सम्पदाहरू जलेर नष्ट हुँदा मुलुकले ठूलो क्षति व्यहोरेको बताए । ‘सिंहदरबार, शीतलनिवासजस्ता संरचना पनि जलाइयो, नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाहेक सबै संरचना ध्वस्त पारियो,’ उनले भने । उनले युवाहरूको आन्दोलनलाई लुटपाट र राष्ट्रलाई कमजोर बनाउने योजनामा दुरुपयोग गर्ने तत्त्वहरूलाई चिन्नुपर्ने र सरकारले यस्ता व्यक्तिहरूलाई दण्डित गर्नुपर्ने बताए । 

पुनर्निर्माणको काम तत्काल अघि बढाउनुपर्ने उनको जोड छ । पोखरेलले एमाले सुशासन, भ्रष्टाचार अन्त्य र विकास–समृद्धिका लागि सरकारलाई सहयोग गर्न तयार रहेको उल्लेख गरे । यद्यपि, अन्तरिम सरकारले तोकिएको समयमा निर्वाचन गराउनुपर्नेमा उनको जोड थियो । ‘सडकबाट सधैँ जनमत प्राप्त हुँदैन । परिवर्तनलाई संविधानमा समेटेर संविधानलाई आधार नबनाए मुलुक कहिल्यै समृद्धिको बाटोमा अघि बढ्दैन,’ उनले भने । उनले एमाले युवाहरूको भावना र परिवर्तनको आकाङ्क्षा सम्बोधन गर्न सक्षम रहेको दाबी गरे । ‘देशभक्तहरूको पार्टी कहिल्यै कमजोर हुँदैन । हामीले युवाहरूको आकाङ्क्षा समयमै सम्बोधन गर्न नसकेको र परिस्थिति आकलनमा कमजोरी भएको हुन सक्छ, तर देशभक्तिमाथि प्रश्न उठाउनु उचित होइन,’ उनले भने । 

महासचिव पोखरेलले एमाले एकताबद्ध र सशक्त भएर उठ्ने बताउँदै क्षतिग्रस्त संरचनाको सफाइ र पुनर्निर्माणमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । उनले पार्टीले मुलुकको नेतृत्व गर्न सक्षम रहेको र युवाहरूको आकाङ्क्षालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्