Logo
Logo

सरकारद्वारा जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिने निर्णय


378
Shares

काठमाडौं। सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार, मृतकका परिवारलाई क्षतिपूर्तिका रूपमा १० लाख रुपैयाँ र अन्त्येष्टि तथा अन्य खर्चका लागि थप ५ लाख रुपैयाँ गरी कुल १५ लाख दिइनेछ। यो रकम अर्थ मन्त्रालयमार्फत गृह मन्त्रालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पीडित परिवारलाई प्रदान गरिनेछ।

मन्त्री अर्यालले सरकार घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाए। उनका अनुसार देशभरका अस्पतालहरूमा अहिले पनि सयौं घाइतेहरूको उपचार भइरहेको छ।

सरकारले मृतकको शव सम्बन्धित परिवार र स्थानमा पुर्‍याउन सवारीसाधनको व्यवस्था पनि गर्नेछ। दुर्गम क्षेत्रका लागि आवश्यक परे हेलिकप्टर प्रयोग गरिनेछ। साथै, शवको अन्त्येष्टि दाहसंस्कार प्रक्रिया सञ्चालनमा सरकारले प्रत्यक्ष सहयोग गर्ने व्यवस्था पनि गरिनेछ।

भदौ २३ र २४ गते देशव्यापी रूपमा फैलिएको जेनजी आन्दोलनमा हालसम्म ७२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। तीमध्ये प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना छन्।

सरकारी तथ्यांकअनुसार, आन्दोलनका क्रममा २,३१६ जना घाइते भएका छन्, जसमा २८३ जनाको उपचार विभिन्न अस्पतालमा जारी छ।

सरकारले मृतक र घाइतेका परिवारप्रति सहानुभूति व्यक्त गर्दै राहत तथा पुनर्स्थापना प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउने बताएको छ।

प्रतिक्रिया दिनुहोस्