Logo
Logo

भारतीय मिडियामा दीपक भट्टको पर्दाफास


12.2k
Shares

काठमाडौं । एकै व्यक्ति जुनसुकै सरकार आए पनि सम्पर्क र सम्बन्धका हिसावले सधँै नजिक हुन सम्भव छैन । कुनै एक व्यक्तिको ‘नेक्सस’ जुनसुकै तह र तप्कामा पनि उत्तिकै सबल नहुनसक्छ । तर नेपालमा एकै व्यक्तिको सम्पर्क गणतन्त्र स्थापना भएदेखिका हरेक सरकार र अहिले जेनजी आन्दोलनको सरकारसँग पनि नजिक रहेको छ ।

हरेक पटक कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्मलाई मिलाएर राखेर आफू अनुकूल निर्णय गराउँदै आएका व्यक्ति हुन् बिचौलिया व्यापारी दीपक भट्ट । अहिले बदलिएको नेपाली राजनीतिको केन्द्रमा रहेका हामी नेपालीका संस्थापक सुदन गुरुङसम्म राम्रो सम्बन्ध देखिएको छ ।

उनी इन्फिनिटी होल्डिङ्स नामक कम्पनीका अध्यक्ष हुन् । उनी सुरक्षा निकायको बन्दोबस्तका सामग्री तथा हातहतियार आपूर्ति, जलस्रोत, पर्यटन, रियल स्टेटदेखि बिमालगायतका वित्तीय संस्थालगायतको व्यवसायमा जोडिएका मात्र होइन सरकारलाई प्रभावित पारेर आफ्नो अनुकूलको निर्णय समेत गराउन सफल हुन्छन् । भट्ट नेपालमा जलविद्युत् आयोजनामा लगानी गर्न आउने धेरैजसो विदेशी कम्पनीको कन्सल्टेन्ट रहँदै आएका छन् ।

यद्यपि, उनी मुछिएका अधिकांश आयोजनाहरू विवादमा पर्ने, समयमा काम नगर्ने र कामै सुरु नगर्ने किसिमका छन् । विदेशी कम्पनीको कन्सल्टेन्ट भट्टले आयोजनाहरूमा विदेशी कम्पनीलाई कम मूल्यमा ठेक्का हाल्न लगाउने, ठेक्का पारिदिने र त्यसपछि त्यसबापतको कमिसन लिएर कम्पनीबाट बाहिरिने गरेका छन् । अहिले भने सुदन गुरुङ मार्फत नै सरकारसँग नजिक रहेका छन् ।

पछिल्लो समय भट्टलाई सबैभन्दा धेरै लाभ व्यापारी समूह शंकर ग्रुपबाट भएको थियो । शंकर ग्रुप नेपालको पुरानो व्यापारिक घराना भए पनि विवाद र कालोबजारीमा पटक–पटक मुछिँदै आएको छ । ग्रुपका सञ्चालक सुलभ अग्रवाल त कोभिड महामारीका बेला निलो नम्बर प्लेटको कूटनैतिक गाडी आफैँ चलाएर ‘थर्मल गन’ कालोबजारी गर्न पुगेका थिए । प्रहरीले उनलाई पक्राउ गरे पनि राजनैतिक संरक्षणमा पछि छुटेका थिए ।

यसैगरी नेपाल धितोपत्र बोर्डका वर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठलाई नियुक्ति दिलाउने पनि उनकै हात रहेको थियो । श्रेष्ठलाई नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिलाउनकै लागि त्यहाँ लगिएको स्रोतको दाबी छ । श्रेष्ठलाई बोर्डको अध्यक्ष बनाउनमा पनि उनै भट्टले सक्रिय भूमिका खेलेका थिए । यसको कारण भनेको उनै भट्टको कम्पनी इन्फिनिटी होल्डिङ प्रवद्र्धक रहेको हिमालय स्टक एक्सचेन्जलाई नयाँ लाइसेन्स दिलाउनु रहेको थियो ।

नयाँ स्टक एक्सचेन्ज र धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विषयमा उच्च तहको समेत प्रत्यक्ष रुचि रहँदै आएको छ । स्वार्थ बाझिने गरी निजी क्षेत्रको पुनर्बीमा कम्पनी, हिमालय पुनर्बीमा स्थापनमा समेत भट्टले भूमिका खेलेको कहीँ छिपेको छैन ।

पुनर्बीमाको क्षेत्रमा निजी क्षेत्रलाई प्रवेश गराउन नुहुने भन्दै यस निर्णयको व्यापक विरोध भएको थियो । तर तत्कालीन प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री विष्णु पौडेलसँग ‘सेटिङ’ मिलाएर भट्टले हिमालय पुनर्बीमा कम्पनीलाई २०७८ जेठमा लाइसेन्स दिलाएरै छाडेका थिए । हिमालयमा पुनर्बीमा कम्पनीमा भट्टसहित शंकर ग्रुप लगायतको सेयर छ ।

हिमालय पुनर्बीमाबाट आफ्नी सासूको नाममा खोलिएको कम्पनी एलियन्ट इन्सुरेन्स ब्रोकर प्रालिमार्फत २ आर्थिक वर्षमा अवैध रूपमा ५२ करोड लगेको आरोप भट्टमाथि छ । प्राधिकरण मात्र हैन, उनको कारोबार शंकास्पद रहेको भन्दै राष्ट्र बैंकले समेत प्रश्न उठाएको थियो । २०७८ असारमा जगदम्बा स्टिल प्रालिबाट सिद्धार्थ बैंकको खातामा ४५ करोड रुपैयाँ जम्मा भएको थियो । स्मरण रहोस्, जगदम्बा स्टिल भट्टको मुख्य साझेदारी रहेको शंकर ग्रुपअन्तर्गतको कम्पनी हो । राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले उक्त कारोबारलाई शंकास्पद भन्दै अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र लेखेको थियो । तर यस्तो गम्भीर विषयमा समेत विभागले ४ वर्षसम्म छानबिन नै अघि बढाएन ।

तर ओली, देउवा र प्रचण्ड सर्वेसर्वा रहिरहेनन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले यी तीनै जना नेतालाई सत्ताच्यूत गरेपछि उनी कमजोर देखिएका छैनन । पछिल्लो १० वर्षमा पहिलो पटक उनीहरूबाहेकको व्यक्ति सुशीला कार्की वर्तमान सरकारको प्रधानमन्त्री बनेकी छिन् । जेनजी आन्दोलन र कार्कीलाई प्रधानमन्त्री बनाउनमा केन्द्रीय भूमिका हामी नेपालीका संस्थापक सुदन गुरुङले खेलेका छन् ।

गुरुङ यतिबेला नेपाली राजनीतिको केन्द्रमा रहेका एक पात्र भएकाले उनको संस्थालाई पनि भट्ट समूहले लगानी गरेको देखिन्छ । त्यतिमात्र होइन भट्टको चर्चा भारतीय सञ्चारमाध्यमले पनि गरेका छन् । भारतका मेघालय, आसाम, नागाल्याण्ड, विहार उडिसाजस्ता राज्यमा जेनजी समूहको आन्दोलन भइरहेका बेला नेपालमा चलेको जेनजी आन्दोलनका मुख्य व्यक्तिसँग भट्टको उठबसले भारतमा समेत चर्चा पाएको हो ।

हतियार खरिदका लागि ठेक्का पट्टा गर्ने भट्टको चर्चा भारतमा हुन थालेपछि यता सुदन गुरुङमाथि थप शंका उत्पन्न भएको छ । जेनजीहरुले लगातार अनियमितता र भ्रष्टाचार अन्त्यका लागि आवाज उठाइरहेका बेला भट्टको गुरुङसँगको उठबसले प्रश्न खडा गरिदिएको छ । गुरुङ जस्ता जेनजी पुस्ता शक्तिको केन्द्रमा आएपछि धेरैले अब दीपक भट्ट, शंकर ग्रुपजस्ता व्यक्तिहरु नै हावी हुने हो भने परिवर्तनमाथि नै कुठराघात हुने निश्चित देखिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्