काठमाडौं । जब देशको मुटु काठमाडौंका सडकहरूमा युवाहरूको आक्रोश र सपना एकसाथ बगे, त्यो केवल भीड थिएन, उटा पीडाले भरिएको देशको आत्मा थियो । त्यसैले २०८२ भदौ २३ र २४ गते नेपाली राजनीतिले नयाँ मोड लियो ।
जेनजी आन्दोलन केवल प्रदर्शन थिएन, त्यो थियो– युवाको करुणा, उनीहरूको चिच्याहट, उनीहरूको परिवर्तनको अतृप्त भोक । त्यो आन्दोलनले देशलाई रुवायो, तर त्यही आँशुले नयाँ आशाको बीउ रोप्यो ।

आन्दोलनमा ७४ निर्दोष युवाहरूले ज्यान गुमाए । उनीहरूलाई राष्ट्रिय शहीद घोषणा गरिएको छ, तर ती अनाहकमा ज्यान गुमाउनेहरूको जीवन अब कहिल्यै फर्केर आउने छैन । हामीले उनीहरूलाई सदासदाका लागि गुमाइसकेका छौं । उनीहरूको सम्झनाले साथीभाइ र आफन्तजनको मन सधैं पोलिरहनेछ, दुखिरहनेछ ।
हरेक ज्यानसँगै एउटा परिवारको सपना चकनाचुर भयो । बृद्ध बाआमाको बुढेसकालको सहारा भाचियो । कति साना बालबालिकाको भविष्यको पिलर भत्कियो । कति महिलाको सिन्दूर पुछियो । देश सडकमा बगेको रगत र आगोको मुश्लोको कोपभाजनमा प¥यो । त्यो क्षति केवल इतिहासको एउटा अध्याय होइन, यो हाम्रो सामूहिक हृदयको भाँचिएको आवाज पनि हो ।
युवाहरूको मृत्युको सूचीले तत्कालीन सरकारको निर्दयता र अहंकारलाई प्रस्ट पा¥यो । भ्रष्टाचारविरुद्ध उठेका युवाको आवाजलाई दबाउन अत्यधिक बल प्रयोग गरेर नरसंहार मच्चाउने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई देशको कानुनले माफी दिने छैन ।
सनकी साशकले बोलीले होइन, गोलीले संवाद गर्ने बाटो रोजे । र, युवाहरूले अनहकमै ज्यान गुमाए । जसले साँच्चै यतिबेला सबै नेपालीलाई स्तब्ध बनाएको छ । मनहरू बेस्सरी रोएका छन् । देशमा सन्नटा छाएको छ । यो त अब एउटा दुःखद् इतिहास बनेर पक्कै अभिलेखित हुनेछ ।
अझै पनि सयौं घाइतेहरू अस्पतालको शैय्यामा जीवन र मृत्युबीच झुलिरहेका छन् । उनीहरूले गुमाएका अंगहरूले तिनीहरूको जीवनलाई यति कठोर बनाइदिए, जुन कल्पना गर्न पनि कठीन छ । यो पीडा अझ गहिरो हुन्छ, जब हामी ती नानीबाबुहरूको बारेमा सोच्छौं, जो अझै स्कूलका विद्यार्थी थिए । भविष्यका उज्ज्वल ताराहरू थिए, तर त्यो उज्यालो सडकमै निभाइयो । त्यो पीडाले हामीलाई प्रश्न सोध्न बाध्य पार्छ– के तिनीहरूको मृत्युको मूल्य कुनै पनि हालतमा न्यायसंगत हुन सक्छ ? भविष्यलाई अन्धकारमा पु¥याउने यस्तो हिंसा फेरि कहिल्यै नहोस् ।
अर्कोतिर सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, संसद् भवनजस्ता ऐतिहासिक संरचनाहरू पनि जलेर खरानी भए । ती भवनहरू केवल ईंटा र काठ थिएनन्, ती हाम्रो पहिचान, हाम्रो इतिहासका साक्षी थिए । यसले पनि सँधै प्रश्न गरिरहने छ– परिवर्तनको लागि त हामीले यति ठूलो मूल्य तिर्नै पथ्र्यो ?
यस्ता प्रश्नहरू धेरै होलान् । तर, हामीलाई गर्व गर्ने ठाउँ पनि दिएको छ । जेनजी आन्दोलन विनाश मात्र होइन । त्यो त युवाहरूको साहस, अटल विश्वास र नयाँ नेपाल बनाउने अभिलाषाको कथा पनि हो । भ्रष्टाचार, अत्याचार र अन्यायविरुद्ध लड्ने युवाहरूको आवाजले विश्वलाई देखायो कि हामी एक जागरूक पीढी हौं, जसले आफ्ना हकका लागि कुनै पनि बलिदान दिन तयार छ ।
युवाहरूको मुख्य माग थियो– भ्रष्टाचारमुक्त देश र सुशासन । त्यो त हरेक नेपालीको मनको गहिरो इच्छा थियो– जहाँ न्याय होस्, रोजगारी होस्, जहाँ युवाले विदेश जान नपरोस् । यो आन्दोलनले परिवर्तन सजिलै हुँदैन भन्ने पाठ पनि सिकायो । त्योभन्दा ठूलो पाठ जब युवाहरू जाग्छन्, उनीहरूलाई कसैले रोक्न सक्दैन भन्ने सन्देश दियो ।
जेनजी आन्दोलनले नयाँ सरकार गठन गरायो, नयाँ बाटो खोल्यो । युवाहरूलाई एउटा नयाँ पहिचान दियो । र, उनीहरूलाई परिवर्तनका संवाहक बनायो । जेनजी आन्दोलनले रुवाए पनि त्यो रोदनले नयाँ सपना जन्मायो ।
जेनजी आन्दोलन केवल विद्रोह मात्र थिएन । त्यसमा हरेक नेपालीको बदलिएको भविष्यको आस थियो । अब हाम्रो कर्तव्य छ– त्यो जागेको सपनालाई मर्न नदिनु । हिंसाको बाटो होइन, प्रेम, शान्ति र सहिष्णुताको बाटो अपनाउनु । किनभने रोएको राष्ट्रलाई तिनै जागेका सपनाहरूले मल्हम लगाउनेछन् ।
हामी सबैको साझा चाहना हो– यस्तो पीडा अब कहिल्यै नदोहोरियोस् । आफ्ना प्रियलाई गुमाउनु नपरोस् । अब, नयाँ नेपालको शुभारम्भ गर्नुछ, जहाँ ती नवयुवक सहिदहरूको सपना साकार होस् । यसका लागि सबै नेपालीले हातमा हात, काँधमा काँध मिलाएर एकतापूर्वक अघि बढ्नु अपरिहार्य छ ।














