काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पूर्वप्रधानमन्त्रीलाई सुविधा नदिए पनि सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित चियापान समारोहमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा आफ्नो निजी निवासको स्थान ट्र्याक गरी घर घेर्न आह्वान गरिएकोप्रति सरकारको चुपचाप बसाइलाई प्रश्न गरेका छन् ।

‘ सामाजिक सञ्जालमा मेरो घरको स्थान तोकेर घेर्न जाऔँ भनिएको छ । सरकार के हेरेर बसेको छ ?,’ ओलीले प्रश्न गरे । उनले सरकारले सुविधा, गाडी, पासपोर्ट खोस्ने र मुद्दा चलाउने कुरा गरेको तर सुरक्षा दिने दायित्वबाट पन्छिन नहुने बताए ।
‘सरकारले सुविधा खोस्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, मुद्दा चलाउँछु भन्छ । तर, सरकारको कर्तव्य के हो ? सुरक्षा दिनुपर्छ कि पर्दैन ? आतङ्क फैलाएर सत्तामा पुग्ने र अरूलाई असुरक्षा दिने ?,’ उनले भने । ओलीले मौसमजस्तै परिस्थिति पनि बदलिने र फेरि हाँस्ने दिन आउने बताए । ‘मौसम सधैँ एकनास हुँदैन । बादल र झरीको समय गएपछि फेरि मुसुक्क हाँस्छ,’ उनले भने ।














