काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वडादसैँ, नेपाल सम्बत, तिहार र छठजस्ता चाडपर्वका लामो बिदामा पनि अस्पतालका सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोत साधन व्यवस्थापन गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरेको हो।
यस क्रममा अत्यावश्यक सेवा, आकस्मिक उपचार तथा शल्यक्रिया सेवा भने सधैंझैं निरन्तर रूपमा उपलब्ध हुने मन्त्रालयले स्पष्ट पारेको छ।
भदौ २३ र २४ गते प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मन्त्रालयले स्वास्थ्य संस्थाहरूको भूमिकाप्रति आभार प्रकट गरेको छ।
मन्त्रालयले चाडपर्वको समयमा समेत सेवा निरन्तर राख्नेमा विश्वास व्यक्त गर्दै सबै सरोकारवालाको सहयोगको अपेक्षा गरेको जनाएको छ।














