काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालयको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले जघन्य अपराधमा संलग्नबाहेकका प्रदर्शनकारीलाई हिरासतमुक्त गर्ने प्रक्रिया सुरु गरेको छ ।

भदौ २४ गतेको प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा काठमाडौंबाट ४३ जना र ललितपुरबाट २२ जना पक्राउ परेका थिए ।
एकजना प्रहरी उच्च अधिकृतका अनुसार गृह मन्त्रालयले सामान्य गतिविधिमा संलग्न तथा प्रहरीको पोसाक लगाएर भिडियोमा देखिएकाहरूलाई पक्राउ नगर्न र पक्राउ गरेको भए पनि रिहा गर्न निर्देशन दिएको हो । तर, जघन्य अपराध र हातहतियार मुद्दामा संलग्नहरूलाई भने कानुनी प्रक्रियाबमोजिम मुद्दा अघि बढाइने प्रहरी अधिकृतहरूले बताएका छन् ।
प्रहरी प्रधान कार्यालयको सर्कुलर जारी भएपछि देशभरका आरोपीहरूको छानबिन गरी हिरासतमुक्त गर्न थालिएको छ । गृह मन्त्रालयले असोज ९ गते विज्ञप्ति जारी गर्दै उच्चस्तरीय जाँचबुझ आयोगको कार्यक्षेत्रभित्र पर्ने विषयमा सरकारको नियमित संयन्त्रबाट तत्काल कारबाही अघि नबढाइने जानकारी दिएको थियो ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘आयोगलाई कारबाहीका लागि रायसमेत दिने कार्यादेश रहेको हुँदा आयोगबाट कार्यादेशबमोजिमको रायसहितको प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुनबमोजिम गर्ने ब्यहोरा जानकारी गराइन्छ ।’














