Logo
Logo

दसैँमा घुम्नलायक १६ ठाउँ


378
Shares


पछिल्लो समय घुम्ने चलन बढेको छ । त्यसमाथि पनि दसैँ–तिहार बिदामा परिवार तथा साथीभाइसँग घुम्ने चलन बढेको छ । दसैँ बिदा परिवारका साथ रमाउने, खाने र घुम्ने समय हो ।

घुमफिर रमाइलो गर्ने आधार हो । घुमफिर अध्ययनको राम्रो पाटो पनि हो । दसैँ बिदा सदुपयोग गरेर नयाँ ठाउँ घुम्ने तयारीमा हुनुहुन्छ भने स्वदेशमै थुप्रै गन्तव्य छन् । यस्ता गन्तव्यले तपाईंलाई मनोरञ्जन मात्र नभएर केही नयाँ कुरा सिक्ने मौकासमेत मिल्ने छ ।

नेपालमै पनि धेरै रमणीय गन्तव्यहरू छन् । तपाईँ पनि दसैँको बिदामा नेपाल चिन्न र घुम्न चाहनुहुन्छ भने यी गन्तव्य उपयुक्त हुन सक्छ ।

१. पोखरा
नेपालको चर्चित घुमफिर गन्तव्यमध्ये पोखरा एक हो । आँखैअगाडि देखिने माछापुच्छ्रे हिमाल, तालै ताल, आकाशमा फनफनी घुमेका प्याराग्लाइडिङ देखेर पोखरा पुगेपछि मनै रोमाञ्चित हुन्छ । यहाँ दसैँ मात्रै होइन, अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्षमा विदेशी र आन्तरिक पर्यटकको घुइँचो लाग्छ ।

पोखरा जाँदा घुम्न बिर्सनै नहुने ठाउँ हुन्, तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, बिन्ध्याबासिनी मन्दिर । सराङकोट पुगेर अन्नपूर्ण माछापुच्छ्रे जस्ता हिमालको दृश्य पनि हेर्न सकिन्छ ।

सराङकोट यहाँको अर्को आकर्षण हो । साहसिक खेलमा रमाउनेले सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायर गर्न सक्नेछन् । पोखरामा बन्जी समेत सञ्चालनमा आएको छ । यस्तै, पोखराबाट नजिकैका गन्तव्य धम्पुस, घान्द्रुक लगायतका ठाउँ पनि जान सकिन्छ ।

२. मुस्ताङ
हिमाल पारिको जिल्लाका रूपमा परिचित मुस्ताङ धार्मिक तथा प्राकृतिक रूपमा रमणीय ठाउँ हो । मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण पर्यटकीय स्थल हो ।

यहाँका रहनसहन तथा परम्परा, चिसो वातावरण, प्राकृतिक सौन्दर्यता त्यहाँका मुख्य आकर्षणको केन्द्र हो । कागबेनी, नौतले गुफा, थकाली संस्कृति, कोराला नाका, मुस्ताङी राजाको मान्यता लगायतका कारण त्यहाँ पर्यटकहरू जाने गर्दछन् ।

फरक जीवनशैली र खानपानका कारण पनि मुस्ताङ पुग्ने पर्यटकको आतिथ्य राम्रो हुने गर्दछ । जोमसोमको चिसो बतास, कागबेनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, नौतले गुफालगायत मनमोहक प्राकृतिक दृश्य तथा कोरला नाका प्रख्यात छन् ।

३. खप्तड
बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रूपमा रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानी हो । यहाँ चारै जिल्लाबाट जान सकिन्छ । तर, डोटीको सिलगढीबाट झिग्राना हुँदै चाँडै पुगिन्छ । बस्नको लागि भने समस्या छ ।

खप्तड धार्मिक स्थल पनि हो । त्यहाँ खप्तड बाबाले तपस्या गरेको हिन्दुले विश्वास गर्ने गरेका छन् । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पड दह, शिवमन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगाजस्ता धार्मिक स्थलहरूले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन् ।

४. रारा
मुगु जिल्लामा पर्ने रारा ताल महत्त्वपूर्ण पर्यटकीय स्थल हो । प्रकृतिको उपहारको रूपमा रहेको रारा ताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली क्षेत्र मानिन्छ । यहाँ पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीलेसमेत आकर्षक बनाएको छ ।

५. इलाम
इलाममा चियाबारी रमाइलो ठाउँ हो । फिक्कलबाट रमाइलो दृश्य हेर्न सकिन्छ । चियाबारीको सौन्दर्य हेर्न धेरै पर्यटक इलाम जाने गरेका छन् । इलामको सकन्दपुरबाट सगरमाथा, कन्चनजंघाजस्ता हिमशृंखला हेर्न सकिन्छ ।

सूर्योदय, सूर्यास्त र तराईका फाँटहरू झनै सुन्दर देखिन्छन् । माइपोखरी, कन्याम निकै रमणीय ठाउँ रहेको छ । त्यस्तै श्रीअन्तु डाँडाबाट सूर्यको किरण र हरियाली वातावरण निकै रोचक देखिन्छ ।

६. सौराहा
चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको सौराहा वाइल्ड लाइफ पर्यटनका लागि चर्चित रहेको छ । यहाँ वर्षेनी लाखौँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न पुग्छन् ।

यहाँको मुख्य आकर्षण हात्ती र जिप सफारी हो । हात्ती तथा जीप सफारी गर्दा बाघ, गैंडा, अर्ना, जंगली हात्ती, घडियाल, चराचुरुङ्गी अवलोकन गर्न पाइन्छ ।

यस्तै, राप्ती र ढुंग्रे खोलामा गरिने बोटिङ पनि पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । बेलुकीको सौराहा बजार हिँड्न पनि रमाइलो नै हुन्छ ।

७. लुम्बिनी
गौतम बुद्धको जन्मस्थल लुम्बिनी पर्यटकको प्रमुख आकर्षणको केन्द्र हो । लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लामा पर्ने यो गन्तव्यमा देशैभरका पर्यटक पुग्ने गरेका छन् ।

लुम्बिनी विश्वमै प्रख्यात धार्मिक पर्यटकस्थल हो । बौद्धमार्गीहरूको यहाँ भीड लाग्ने गरेको छ । यहाँ गौतम बुद्धको जन्मस्थल, विभिन्न भग्नावशेष, मन्दिर महत्त्वपूर्ण आकर्षण केन्द्र हुन् । यहाँ भएका सबै गुम्बा घुम्ने हो भने दुई दिनको समय छट्याउनु पर्छ ।

८. अन्नपूर्ण पदमार्ग
पत्रयात्राका सौखिनका लागि अन्नपूर्ण पदमार्ग राम्रो विकल्प हो । अन्नपूर्ण पदमार्ग नेपालीमाझ मात्र होइन विश्वभर चर्चित छ ।

लमजुङ सदरमुकाम बँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रूपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङको ताल, बगरछाप, चामे, थोराङपास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा पूरा हुन्छ ।

कास्कीबाट पनि अन्नपूर्ण पदयात्रा सुरु गर्न सकिन्छ । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिएको छ ।

९. मुन्दुम पदमार्ग
हिँड्न रुचाउनेका लागि अर्को रुट भनेको मुन्दुम पदमार्ग हो । मुन्दुम पदमार्ग नेपालको एक छुट्टै पहिचान भएको पर्यटकीय क्षेत्रको रूपमा स्थापित भएको छ ।

खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ पदमार्ग ‘मुन्दुम पदमार्ग’ स्थापित भएको छ । विभिन्न संस्कार, संस्कृतिको आनन्दसँगै प्राकृतिक सौन्दर्यतालाई नियाल्दै पदयात्रा गर्न चाहने पर्यटकको रोजाइमा पर्ने पर्यटकीय गन्तव्य हो, मुन्दुम पदमार्ग ।

यो पदमार्ग भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको चखेवा भञ्ज्याङबाट सुरु भएर धोत्रे भन्ज्याङ, मैयुङ डाँडा, हाँसपोखरी, सातदोबाटो, रावाधाप, साल्पा भन्ज्याङ हुँदै सिलिचुङ डाँडासम्म पुग्छ । जुन बाटो गयो त्यही बाटो फर्किंदा जम्मा ९ दिन पदयात्रा हुन्छ ।

१०.जोमसोम र मुक्तिनाथ
मुक्तिनाथ मन्दिर मुस्ताङमा पर्दछ । यस जिल्लाको सदरमुकाम जोमसोम हो । हिन्दू र बौद्ध धर्मालम्वीको प्रशिद्ध तिर्थस्थल हो मुक्तिनाथ मन्दिर । ३८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न स्वदेशी तथा विदेशीहरू पर्यटक पुग्ने गर्छन् ।

मुक्तिनाथको दर्शनको लागि विशेषतः चैत्राष्टमी, रामनवमी, ऋषितर्पणी, दसैँ आदिपर्वहरु महत्त्वपूर्ण मानिन्छन् । यसका अलावा मनले चिताएको पुग्ने विश्वासका साथ यहाँ पुग्नेले १ सय ८ धारा र २ वटा कुण्डमा जम्नै लागको पानीमा स्नान गर्ने गर्छन् ।

प्राकृतिक सुन्दरता, शान्त वातावरण रुचाउनेका लागि यो गन्तव्य उपयुक्त हुन्छ । निलो आकाश र हिमाललाई पृष्ठभूमिमा राखेर फोटो खिच्दा मनै पुलकित हुन्छ ।

११. घलेगाउँ
लमजुङको घलेगाउँ ग्रामीण पर्यटनका लागि चर्चित छ । बस्नको लागि यहाँ होमस्टे छ । होमस्टेमा गरिने आतिथ्य सत्कार नै यहाँको मौलिकता हो । बेंसीसहरबाट जिप वा वाइकमा सजिलै पुग्न सकिने घलेगाउँबाट नजिकै हिमाल नियाल्न सकिन्छ । चिसो मौसममा त्यहाँबाट भुजुङ र घनपोखरा जान सकिन्छ ।

घलेहरूको बस्ती रहेको घलेगाउँमा दसैँ विदामा भ्रमणका लागि उत्तम गन्तव्य हो । यहाँको प्राकृतिक सुन्दरता र मानिसको आतिथ्य सत्कारका कारण यो पर्यटकको लागि उत्कृष्ट गन्तव्य बनेको छ ।

१२. पुनहिल
म्याग्दीमा रहेको पुनहिल पनि दसैँ बिदा मनाउन घुम्न जाने एक उत्कृष्ट गन्तव्य हो । यहाँ बिहानीको सूर्योदयसँगै हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन र कोलाहलमुक्त वातावरणमा रमाउन सकिन्छ ।

म्याग्दी घोरेपानी, पुनहिल क्षेत्र पोखरादेखि नजिक हुनुले पनि पर्यटक बढी जाने गरेका छन् । म्याग्दीको भुरुङ तातोपानी, मोहरेडाँडा, कास्कीको घान्दु्रक, उल्लेरी हुँदै घोरेपानीमा पुगेका पर्यटकको लागि पुनहिलबाट देखिने प्राकृतिक सौन्दर्यता, भौगोलिक बनावट र मनोरम हिमशृङ्खलाका दृश्यले पर्यटकको मन जितेको छ ।

१३. बन्दीपुर
तनहुँ जिल्लाको पुरानो बजार हो– बन्दीपुर । नेवार समुदायको बाहुल्यता रहेको बन्दीपुरमा घुम्न त्यति धेरै ठाउँ त छैनन् । त्यहाँको आकर्षण भनेको प्राकृतिक दृश्यावलोकन नै हो । पुराना घरहरूलाई कलात्मक रूपमा सिँगारिएको बन्दीपुर शान्त भएकोले एकै ठाउँमा बसेर पनि दिन कटाउन सकिन्छ ।

यहाँबाट गोरखाको पालुङटार, तनहुँको सुन्दर फाँटहरू, हिमाल लगायतका दृश्यहरू हेर्न पाइन्छ । वातावरणका हिसाबले पनि यो ठाउँ उत्तम रहेको छ । दसैँ बिदामा बन्दीपुर गएर परिवार तथा साथीभाइसँग मज्जाले रात बिताउन सकिन्छ ।

१४. पाथीभरा
ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर नेपालका साथै भारतका धार्मिक पर्यटकमाझ पनि चर्चित छ । यो मन्दिरमा बर्सेनि लाखौँ भक्तजन दर्शन गर्न आउने गर्छन् ।

कुम्भकर्ण हिमाल हेर्न पनि पाथीभरा उपयुक्त गन्तव्य हो । असोज–कात्तिक महिनामा मौसम सफा हुने भएकाले पनि यतिबेला हिमाल हेर्ने उपयुक्त समय हो ।

१५. स्वर्गद्वारी
पाँच पाण्डवले स्वर्ग जाँदा यही बाटो भएर गएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ । प्यूठानको स्वर्गद्वारी धार्मिक हिसाबले जति महत्वको छ,त्यति नै प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ ।

यहाँबाट अन्नपूर्ण, धौलागिरी, मनास्लु लगायत दर्जनौँ हिमाल अवलोकन गर्न पाइन्छ । विशेष गरी स्वर्गद्वारीबाट धौलागिरि हिमाललाई नजिकबाट नियाल्न पाइन्छ । स्वर्गद्वारी दर्शनका लागि भारतबाट बर्सेनि एक लाखभन्दा बढी भक्तजन आउने गर्छन् ।

१६. कालिन्चोक
दोलखा जिल्लामा अवस्थित कालिन्चोक पनि बिदा मनाउन एक गन्तव्यको रूपमा लिन सकिन्छ । कालिन्चोकमा भगवती, गणेशका मूर्ति र शिव पार्वती कुण्ड छन् । कालिन्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ ।

कालिन्चोक बेस क्याम्प कुरी भन्ज्याङमा प्रशस्त होटलहरू छन् । कुरी बजारबाट हिँडेर मन्दिरमा पुग्न एक घण्टा लाग्छ । कालिन्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ । त्यहाँबाट लाङटाङ, गौरीशङ्करदेखि सगरमाथासम्म देखिन्छ ।

तर अहिले केही राजमार्ग अवरुद्ध छन् । ठाउँठाउँमा पहिरो गएको छ । जसमा कारण जोखम बढेको छ । दसैँ विदामा घुम्न जाँदा राजमार्गको अवस्था र जाने ठाउँको पूर्वजानकारी लिन भने जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्