काठमाडौं । ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो दलको झन्डा नहुने बताएका छन् ।

पार्टीको झन्डा बनाउँदा लाखौँ करोडौँ खर्च हुने भएकाले पार्टीको झन्डा नहुने बताएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै पार्टीको झन्डा नहुने जानकारी गराएका हुन् । उनले भने, ‘हाम्रो पार्टीको झन्डा रहने छैन। कारण २ वटा छन्-१. कपडाको नाश गर्न चाहेनौँ । गरिबले नाङ्गो आङ ढाक्न नसकेको बेला करोडौँको कपडा च्यातेर झन्डा बनाउनु हुन्न । २. आफ्नो पार्टीको झन्डा बोक्न थाले देशको राष्ट्रिय झन्डाको माया नलाग्दो रैछ। त्यसैले हाम्रो पार्टीको झन्डा हुने छैन ।’
निर्वाचन आयोगले दल दर्ताका लागि साम्पाङबाट आएको निवेदन अध्ययनकै क्रममा रहेको र दसैँ बिदा सकिए लगत्तै यस विषयमा निर्णय हुने जनाएको छ ।
जेनजी आन्दोलनबाट कांग्रेस९एमाले गठबन्धनको सरकार ढलेर मुलुकमा अन्तरिम सरकार गठन भइसकेको छ भने प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि चुनाव तोकिएको छ । यसै अवसरमा मेयर साम्पाङले पनि पार्टी खोल्न लागेका हुन् ।














