Logo
Logo

कोरोना कहरमा मनका कुरा


- होमभक्त कुरुम्बाङ


  • होमभक्त कुरुम्बाङ

मुलुकको वर्तमान अवस्था अत्यन्त कहालीलाग्दो छ । विभिन्न व्यवसायमा रहेका सर्वसाधारणदेखि बिहान काम गरेर बेलुकाको छाक टार्ने श्रमिक, मजदुर, किसानलगायत लाखौं सर्वसाधारण जनताको मुलुकभरि नै रहेका छन् । उनीहरु र उनका परिवारहरु भोकै छन् । कसैले दिए खान्छन्, नदिए भोकै रात गुजार्छन् । यो राज्यले नदेखेको पक्कै होइन । तर राज्य कानमा तेल हालेर बस्दा कति गरिब परिवार आत्महत्या गर्न बाध्य छन् । यस्तो दुःखद् दर्दनाक अवस्थामा पनि राज्य अलिकति पनि जिम्मेवार नभएको महसुस सर्वसाधारण जनताले गरेको हुँदा अब गरिखाने जनता भोको पेट लिएर कुन दिन सडकमा उत्रन बाध्य हुनेछन् । त्यो बेला राज्यको इज्जतमाथि नै प्रश्नचिन्ह नउठ्ला भन्न सकिन्न । हिजो अस्ति भर्खर मात्र वीरगञ्जमा बेरोजगारीका कारण एउटाले खान नपाएर विष सेवन गरेर आत्महत्या गरेको समाचारमा सुन्नमा आएको छ । यो राज्यका लागि पनि लज्जाजनक विषय हो । यतिखेर सत्तापक्ष आफू र आफूनिकटलाई मात्र कसरी के गरेर पैसा कमाउन सकिन्छ भनी राजनीतिक नियुक्ति दिइरहेको अवस्था छ । विगतका केही घटनाहरुले यो कुरालाई स्पष्ट पार्छ ।

होमभक्त कुरुम्बाङ

कोरोना संक्रमण दिनदिनै बढिरहेको छ । यसबाट हामी अत्यन्त चिन्तित छौँ । तर सत्तापक्षबाट कोरोना रोकथामको पहल भए पनि पर्याप्त छैन । यसमा सत्तापक्षको लापरवाही नै पहिलो कारण हो । यस्तो बेलामा पनि सत्तापक्ष आन्तरिक विवादमा अल्झिएको छ । कोरोनाका नाउँमा खरिद गरिने सामानमा व्यापक भ्रष्टाचार भएको छ । त्यसको एउटा उदाहरण ओम्नी काण्ड आम जनतालाई थाहा भएकै कुरा हो ।

सत्तारुढ दलभित्रको विवाद कुनै सैद्धान्तिक होइन । यो विवाद भागवण्डाको लागि मात्र हो भन्ने बुझाई आम जनताको छ । भर्खर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा नाटकिय रुपमा विवाद अन्त भएको देखियो । पार्टीले सरकारलाई सहयोग नगरेको गुनासो प्रधानमन्त्रीको छ । पार्टी नेताहरु भने प्रधानमन्त्रीले पार्टीको विधि, पद्धति उल्लंघन गरेको आरोप लगाइरहेको छ । विगतमा सत्तापक्षबाट जे जस्तो कमी कमजोरी भएको थियो, त्यसलाई आत्मालोचना गर्दै कमजोर पक्षलाई हटाएर सरकार सच्चिने अवस्था भने छ ।

यसै बेला प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा पनि कुनै सैद्धान्तिक लडाइँ देखिँदैन । त्यहाँ पनि जुँगाकै लडाइँजस्तो उनीहरुको आन्तरिक कलह देखिएको छ । त्यो आन्तरिक कलह राष्ट्रिय राजनीतिमा नपर्ने कुरै भएन । नेपाली कांग्रेस पुरानो प्रजातान्त्रिक पार्टी भएको हुनाले मात्र अहिलेसम्म टिकिरहेको मात्र हो । त्यसको प्रभावकारिता देखिएको छैन । अहिले राज्यमा प्रतिपक्ष पार्टी नै छैन जस्तो अवस्था छ । किनभने, सरकारले जे कदम चाल्छ, त्यो कदममा काँग्रेसले सघाइरहेको भैm देखिन्छ । किनभने, मुलुकमाथि ठूलाठूला भ्रष्टाचारको काण्डहरु छ त्यो आम जनताले देखिरहेका छन्, भोगिरहेको छन् । त्यो समेत राजनीतिक मुद्दा नउठाएपछि यहाँ काँग्रेस पार्टी प्रतिपक्ष हो वा होइन भन्नै नसकिने अवस्था देखिँदैछ । यस्तो अवस्थामा काँग्रेसलाई कसरी प्रमुख प्रतिपक्ष दल भन्ने ? सरकारले गलत काम गर्दा पनि खबरदारी नगरेर टुलुटुलु हेरेर बस्ने पार्टी प्रमुख प्रतिपक्ष काँग्रेस पार्टी हो कसरी भन्ने ? र काँग्रेस देश र जनताप्रति जिम्मेवार छ भनेर कसरी पत्याउने ? तै पनि बिपीको पार्टी हो भनेर जनताले पत्याउनुपर्ने अवस्था छ ।

अब राप्रपाको कुरा गरौं । राप्रपा अहिले भिरको लौकाजस्तो भएको छ । न माथि न तलको अवस्था देखिन्छ । पार्टी भित्र त्यस्तो कुनै सैद्धान्तिक विचारको लडाइँ छैन । यो परम्परावादी लोकतान्त्रिक शक्तिको रुपमा स्थापित हुन नखोजेको त होइन, तर नेतृत्व तहबाट केही न केही तालमेल नमिलेको कारणले पार्टीले गति लिन सकेन । हिजो दुई पाटा रहेका आज एकै ठाउँ हुँदा पनि यसले मुर्त रुप लिन नसक्दा तमाम कार्यकर्ता र पार्टीप्रति आस्था राख्ने जनता समेत निरास हुँदै गएका छन् । डेढ दुई वर्षमा मुलुकमा चुनाव हुनेछ । त्यो अवस्थासम्म नपुग्दै तत्काल पार्टीले नयाँ सोचका साथ नयाँ एजेण्डाहरु लिएर नीतिगत निर्णय गरी पार्टीले लोकप्रिय वा अग्रगामी विचार लिएर गएको खण्डमा राम्रै नै हुनेछ ।

अहिले देशमा व्यापक भ्रष्टाचार बढेको कारण देशमा विकास निर्माणमा असर परिरहेको छ । भ्रष्टाचारको कारण जनताले सोचेजस्तो विकासको प्रत्याभूति गर्न सकेका छैनन् । सुरुमा नेकपाले देश निर्माणको खाका राम्रो तयार गरे पनि साढे दुई वर्षमा नेकपाको सरकार असफल जस्तो देखिएको छ । कम्तीमा सरकारले ठूला भ्रष्टाचारीहरुलाई कारवाही मात्र गरेको भए पनि सरकारले ठीक काम ग¥यो है भन्ने जनताले महशुस गर्थे । तर, सरकारले ठूला माछा उम्काउने, भुरा समाउने मात्र काम गरेको छ । केन्द्र, प्रदेशदेखि स्थानीय निकायसम्म हरेक अंंगमा भ्रष्टाचार मौलाइरहेको छ । पैसा कमाउने मौका यही हो भन्ने सरकारी कर्मचारीको पनि नियत देखिन्छ । उनीहरुले नै नियम कानून मिलाएर सोझा जनप्रतिनिधिलाई भ्रष्ट बनाइरहेका छन् ।

अमेरिकी च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई हतार हताररुपमा पारित गर्न खोजिँदैछ । नेपाली जनतालाई झुक्याएर पास गर्न लागिएको गाइगुई देखिन्छ । यो नेपाली जनतामाथि धोका हुनेछ । सत्तापक्ष र प्रतिपक्ष मिलेर एमसिसी पारित गर्ने हो भने यो राष्ट्रघाती काम हुने छ । राष्ट्रलाई नै वन्दक राखेर एमसिसी पारित गर्न हुँदैन भन्ने आवाज नेकपाभित्र उठेको छ । यसलाई कुनै पनि हालतमा जस्ताको तस्तै पारित हुन नदिन सम्पूर्ण नेपाली जनता अब सजग हुने बेला आएको छ ।

समग्ररुपमा आम नेपाली जनताले अब के बुझ्नुप¥यो भने आगामी चुनावमा कस्तो कस्तो आचरण भएका व्यक्तिलाई चुनावमा उम्मेदवार बनाउने ? तीनलाई चिन्ने प्रयास गर्नु पर्छ । हिजोका भ्रष्टाचारीहरुलाई नै पार्टीहरुले उम्मेदवार बनाएको खण्डमा तीनको बहिष्कार गर्नुपर्ने दिन आउँदैछ । त्यसैले आम नेपाली जनताले भ्रष्टाचारीलाई पाखा लगाउने हिम्मत देखाउन सक्नु पर्छ । सिद्धान्तनिष्ठ, इमान्दार, स्वच्छ छवि भएका व्यक्तिलाई पार्टीले पनि छान्न सक्नुपर्छ । पैसाको भरमा टिकट दिने र पैसाकै बलमा चुनाव जित्ने परिपाटीले देश बन्न सक्दैन । त्यसले लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने हुँदा आगामी निर्वाचनमा हरेक पार्टीले इमान्दार उम्मेदवारको खोजी गर्नुपर्छ । हरेक पार्टीमा इमान्दार व्यक्ति, नेता, कार्यकर्ता छन्, तर तिनको मूल्यांकन पार्टीले गर्न नसक्दा नेपाली जनता झन् झन् गरिब नेता, कार्यकर्ता झन्झन् धनी बनिरहेको हाम्रै आँखाले देखेका छौँ ।

(लेखक राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता हुन्)

प्रतिक्रिया दिनुहोस्