इस्लामावाद । दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तमा मङ्गलवार अर्धसैनिक बलको मुख्यालयलाई लक्षित गरी गरीएको आत्मघाती आक्रमणमा १० जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रान्तीय स्वास्थ्य मन्त्री बख्त मुहम्मद काकरले बताएका छन् ।

आक्रमण राजधानी क्वेटामा स्थानीय समय अनुसार विहान ११ः३० बजेको आशपासमा भएको उनको भनाई छ । आतंककारीले विस्फोटक पदार्थले भरिएको गाडीलाई मुख्यालयको बाहिरी पर्खालमा ठोक्काए पछि विष्पोट भएको तथा चार आतङ्ककारीहरु भवनमै लडेको सुरक्षा स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।
आक्रमण पछि सुरक्षा बलको जवाबी कारबाहीमा गोली हानेर मारेको तथा उनीहरूको शव अनुसन्धानका लागि लिइएको स्रोतले जनाएको छ । क्वेट्टामा रहेको गैरसरकारी संस्था फाउन्डेसनका अपरेसन म्यानेजर मुहम्मद जिशानलाई उद्धृत गर्दै सिन्ह्वाले मृतकमा सात जना सर्वसाधारण र तीन जना सुरक्षाकर्मी रहेको र घाइतेमा एक अधिकारीसहित नौ जना सुरक्षाकर्मी रहेको जनाएको छ ।
विस्फोट हुँदा बस र रिक्सा घटनास्थलमा रहेको तथा अधिकांश मृतक र घाइतेहरू गाडीमा सवार यात्रुहरू रहेको उनले बताए । घाइतेहरूलाई क्वेटा सिभिल अस्पतालमा सारिएको जनाउदै उनले धेरैको अवस्था गम्भीर रहेको उल्लेख गरे ।
स्वास्थ्य विभागका प्रवक्ता वसीम बेगलाई उद्धृत गर्दै सिन्ह्वाले शहरका सबै प्रमुख अस्पतालहरूमा आपतकालिन अवस्था घोषणा गरिएको र मेडिकल स्टाफ चुनौतीको सामना गर्न उच्च सतर्कतासहित तयार रहेको जनाएको छ । अहिलेसम्म कुनै समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
प्रधानमन्त्री शाहबाज सरिफले आक्रमणको निन्दा गर्दै निर्दोष नागरिकहरूलाई हानि पुर्याउने र देशको अखण्डतालाई कमजोर पार्ने प्रयास गर्ने आतङ्ककारीहरूलाई कानुन बमोजिम कार्वाहि गरिने बताएका छन् ।











