Logo
Logo

‘मुर्खको सल्लाह, खरानीको डल्ला’


- शम्भु श्रेष्ठ


  • शम्भु श्रेष्ठ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र सल्किएको आगो निभाउन दमकलको आवश्यकता परेन । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले नै पानी छर्किएर आगो निभाउने प्रयास गरेका छन् । अझै पनि घरधुरीबाट धुँवा पुत्याएको छ । यसको अर्थ आगो राम्रोसँग निभेको छैन । भित्रभित्रै स–साना आगोको झिल्का बाँकी छन् । अब त्यो झिल्का निभाउने र घर जोगाउने जिम्मेवारी कार्यदलले घरमुली अध्यक्षद्वयलाई सुम्पिएका छन् । यो आगो कसरी, किन र कसले लगायो भन्नेतिर कार्यदलले खोजीनीति गरेन । आगो आफैँ लाग्दैन । आगो लाग्न घरभित्र केही प्राविधिक त्रूटि भएको हुनुपर्छ । त्यसैले आगो लाग्नुको कारण पत्ता नलगाई दिइएको यस प्रतिवेदनले अहिलेका लागि पार्टी एकता जोगियो भनिएको छ । यसले के बुझिन्छ भने अध्यक्षद्वय ओली र प्रचण्डबीच बढेको विवादले पार्टी फुटको संघारमा पुगेको थियो । त्यसबाट जोगाउने काम कार्यदलको यस प्रतिवेदनले ग¥यो भनिन्छ ।

शम्भु श्रेष्ठ

२०७५ साल जेठ २ गते तत्कालीन नेकपा एमाले र माओवादी पार्टीबीचको एकता दुई वर्षमै फुटको संघारमा किन पुग्यो, त्यसको विश्लेषण गर्नु जरुरी छ । अनि मात्र कार्यदलले दिएको सुझावअनुरुप एकता प्रक्रियाले गति लिनेछ । अन्यथा, यो कार्यदलको सुझाव ‘मुर्खको सल्लाह, खरानीको ढल्ला’ नबन्ला भन्न सकिन्न । कम्युनिष्ट पार्टी भन्नासाथ संसारभरि विधि, पद्धति र विचारबाट चल्ने पार्टी हो । त्यसमा विचलन आउँदा कम्युनिष्ट पार्टीहरु फुटेको धेरै उदाहरणहरु छन् । नेपालमै पनि दर्जनौं पार्टी कम्युनिष्टका नाममा खुलेका छन् । ती पार्टीहरुमध्ये नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सबैभन्दा सुदृढ, अनुशासित र गतिशील पार्टी हो भन्ने आम बुझाई छ । पटक–पटक सरकारको नेतृत्व गरेको पार्टी भएर पनि जनताका लागि यो पार्टीले राम्रो काम गर्छ भन्ने बुझाई पनि छ । त्यही कारण एमाले र माओवादी मिलेर बनेको पार्टीलाई नेपाली जनताले दुईतिहाइ मत दिएका हुन् । यो सत्यलाई नेकपाका अध्यक्षद्वयले मनन् गर्नुपर्छ । देश र जनतालाई धोका दिने अपराध कसैबाट पनि गरिनु हुन्न ।

सिंगो देश कोरोना भाइरसका कारण पीडामा छ । सिंगो नेपाली जनता भोक, रोग र शोकमा छन् । यस्तो बेला तिनै तहका सरकारले जनतालाई परेको पीर मर्कामा साथ नदिने हो भने आगामी चुनावमा यो पार्टीलाई धुलो चटाउनेछन् । त्यसमाथि माओवादी जनयुद्धमा हजारौं जनता सहभागी भए । तिनै जनताको बलिदानीबाट लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । त्यो जनताको बलिदानीलाई बिर्सिएर ‘मै पार्टी हुँ, मै सरकार हुँ’ भन्ने घमण्ड नेतृत्वले नत्याग्ने हो भने फेरि पनि धुरीमा पुत्याएको धुँवाले घर ध्वस्त हुनसक्छ । घर सुरक्षित भए मात्र नेता, कार्यकर्ता सुरक्षित हुन सक्छन् । अन्यथा, जुँगाको लडाइँले ७० वर्षदेखिको मेहनत एकै सेकेण्डमा खरानी बन्न सक्छ । विश्वका धेरै देशहरुमा कम्युनिष्ट पार्टी ध्वस्त हुनुको पछाडि शासकहरुको निरंकुश तानाशाही व्यवहार जिम्मेवार छ । ती घटनाबाट पाठ सिकेर नेकपाले पाएको यो अवसर जनताको पक्षमा उपयोग गर्नुपर्छ । त्यसका लागि फेरि पनि अध्यक्षद्वय ओली र प्रचण्ड मिल्नुको विकल्प छैन । यी दुई नेता मिल्नु भनेको खाबोमा दुई जनालाई बाँधेर मिलाउनु भन्ने होइन । तर, कार्यदलको प्रस्तावले यी दुईलाई खाबोमा बाँधेर मिलाउने प्रयास त गरेका छन्, तर कतिबेला त्यो खाबोबाट को फुत्किने हुन् भन्ने चिन्ता आम कार्यकर्तामा अझै छ ।

प्रतिक्रिया दिनुहोस्