Logo
Logo

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा सुरु


3.2k
Shares

चितवन । हवाई यात्रुको अत्याधिक चाप बढेपछि भरतपुर विमानस्थलमा टिकट नपाई अलपत्र परेका यात्रुलाई सहज रूपमा काठमाडौँ पठाउन स्थानीय प्रशासनले विमानस्थलबाटै बस सेवा सुरु गरेको छ ।

शनिबार मौसमका कारण हवाई सेवा अवरुद्ध भएपछि उक्त दिनका टिकट काटेका यात्रु र आइतबार पुनः विमानस्थल पुगेका नयाँ यात्रु जम्मा हुँदा विमानस्थलमा भीड बढेको थियो। अर्कोतर्फ, काठमाडौंँ जाने सडक पनि अवरुद्ध भएपछि हवाई यात्रुको चाप झनै बढेको हो ।

विमानस्थलमै पुगेर अवस्थाको अवलोकन गरेका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यातायात व्यवसायीसँग समन्वय गरी यात्रुलाई लैजान बसको व्यवस्था मिलाईएको हो । उनले एक माइक्रोबसमार्फत केही यात्रु पठाइसकेको र थप यात्रुको लागि थप बसको व्यवस्था भइरहेको जानकारी दिए।

यात्रालाई कानुनी भाडा लिई सेवा दिन भनिएको छ, प्रमुख जिल्ला अधिकारी अर्यालले भने, अत्यावश्यक यात्रुका लागि स्थानीय प्रशासनले आधिकारिक पत्र दिई बस चलाएको हो ।

बसलाई आवागमनमा सहज होस् भनेर प्रशासनले सिफारिसपत्रसमेत बनाएको जनाएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा छ भने पृथ्वी राजमार्गको चितवन खण्ड पनि खुला रहेको बताइएको छ । धादिङतर्फ खसेको पहिरो हटाउने काम भइरहेको र साना सवारीलाई गन्तव्यतर्फ जान दिइएको जानकारी प्रशासनले दिएको छ ।

यात्रुको अवस्थालाई ध्यानमा राख्दै प्रशासनले शनिबार विमानस्थलमा रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा स्थानीय होटलमा बस्न व्यवस्था गरेको थियो।

प्रतिक्रिया दिनुहोस्