काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध बीपी राजमार्ग छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले बताएका छन् ।

भौतिक पूर्वाधार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले विशेषगरी भकुण्डेवेशी–नेपालथोक खण्डमा सडक क्षति भएकाले सो क्षेत्रलाई प्राथमिकतामा राखी डाइभर्सन बनाउने र मर्मत कार्य तीव्र गतिमा अघि बढाइएको बताए ।
३–४ दिनभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक उपकरण र जनशक्ति परिचालन भइसकेको छ, मन्त्री घिसिङले भने, सकेसम्म त्यसअघि नै खोल्ने प्रयासमा छौं ।
उनले तत्कालको लागि वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरे । बीपी राजमार्गसहित मेची राजमार्ग पनि यथाशक्य चाँडो सञ्चालनमा ल्याउने सरकारको योजना रहेको जानकारी गराए ।














