काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी र पहिरोमा ज्यान गुमाएका परिवारलाई तत्काल २ लाख रुपैयाँ राहत उपलब्ध गराउन निर्देशन दिएको छ ।

प्राधिकरणले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ सहयोग र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले प्रभावित जिल्लाहरूमा तत्काल उद्धार र राहत वितरण गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको बताए । उनका अनुसार, बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित इलाम जिल्लामा प्राधिकरणले तत्काल ७० लाख रुपैयाँ उपलब्ध गराएको छ ।
उनले भने, ‘इलाममा बढी क्षति भएकाले हामीले तत्काल ७० लाख रुपैयाँ पठाएका छौँ। अन्य जिल्लाहरूमा भने जिल्ला विपद् कोषमा पर्याप्त रकम रहेकाले सोहीबाट खर्च गर्न निर्देशन दिइएको छ ।’
प्राधिकरणले तत्काल राहत, खोज उद्धार र पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरूलाई निरन्तर समन्वय र कार्यान्वयनमा जोड दिएको छ ।














